पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
भदौ महिनामा जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएका चालकहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । मापसे गरी सवारी चलाउँदा चालक स्वयंका साथै अन्य यात्रु तथा सडक प्रयोगकर्ताको सुरक्षामा समेत गम्भीर जोखिम हुने भएकाले मापसे जाँचलाई प्राथमिकताका साथ अघि बढाएको उनको भनाई छ । प्रहरीले सार्वजनिक हित तथा सुरक्षा विरुद्धको अभ· व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी सम्बन्धित चालकहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाएको जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार तानसेन नगरपालिका–७ लामिडाँडा क्षेत्रमा चेकजाँच गर्ने क्रममा तानसेन नगरपालिका–६ बस्ने ३२ वर्षीय एक चालकले चलाएको लुम्बिनी प्रदेश ०१–००२ ज ००२५ नम्बरको जीप मापसे गरी चलाएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार तानसेन नगरपालिका–७ लामिडाँडाबाट मापसे गरी सवारी चलाउने एक जना, तानसेन–८ वनदेवीबाट एक जना, तानसेन–७ लामिडाँडाबाट एक जना, तानसेन–१ अमिलहानबाट एक जना र तानसेन–७ ठाटीबाट एक जना गरी पाँच जना चालक कारवाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा मोटरसाइकल, जीप, अटो रिक्सा तथा बस चालक रहेका छन् ।


