Shittalpati
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित

रामचन्द्र रायमाझी
पाल्पा । विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ ले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । लामो समयदेखिको बन्दाबन्दीले जिल्लाको कृषि क्षेत्रको विकासमा नराम्रोसँग प्रभाव पारेको हो । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि जिल्लामा सञ्चालित अधिकास कार्यक्रम ठप्प भएका हुन् । लामो समयदेखिको बन्दाबन्दीका कारण कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित कार्यक्रमहरु प्रभावित भएका हुन् । बन्दाबन्दीले केन्द्रको चालु आर्थिक वर्षको अधिकांश स्विकृत कार्यक्रमहरु हुन सकेनन् । कृषि क्षेत्रको विकासका लागि केन्द्रलाई प्राप्त रकम मध्ये करिव ३० प्रतिशत रकमको कार्यक्रम प्रभावित भएको छ ।

केन्द्रका प्रमुख शिवप्रसाद अर्यालका अनुसार महामारीका कारण अभियानमूखी कार्यक्रम अन्तर्गत फलफूल रोपण, सुन्तला कागती मिसन कार्यक्रम प्रभावित भएको छ । बन्दाबन्दीका बेला कार्यक्रम गर्न नसक्दा उक्त कार्यक्रमका लागि छुटाएको एक करोड ४५ लाख रकम प्रयोग हुन नसकेको प्रमुख अर्यालले बताए । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत सुन्तला कागती मिसन कार्यक्रमका लागि प्रदेश सरकारबाट एक करोड रकम प्राप्त भएपनि प्रयोग हुन सकेन् । उक्त रकम मध्ये ९० लाख रुपैया बराबरको कार्यक्रमका लागि आवेदन संकलन भएपनि स्थलगत अनुगमनको क्रममा रोकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बन्दाबन्दीका कारण कार्यालयबाट बाहिर जान नसक्ने अवस्था भएकाले केन्द्रले तय गरेका वार्षिक कार्यक्रमहरु समेत प्रभावित बन्न पुगे । कृषि सम्बन्धी सचेतना कार्यक्रम, गोष्ठी, अनुगमन तालिम लगायतका कार्यक्रमहरु समेत गर्न नसकिएको केन्द्रका प्रमुख अर्यालले बताए । कोरोना नियन्त्रणका कारण बजेट कटौती भएकाले पनि मिसन सहयोगीका रुपमा प्रस्तावित तालिम, गोष्ठी, अनुगमन कार्यक्रम हुन सकेनन् ।

प्रदेश, सघींय सरकारको निर्देशनमा कार्यक्रम रोकीदा १६ हजार वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण कार्यक्रम चालु आर्थिक वर्षका लागि रोकिएको छ । सम्पूर्ण रकम कोरोना नियन्त्रणमा खर्च गर्दा २० लाख रुपैयाँ बराबरको मागमा आधारित च्याउ, तरकारी कार्यक्रम समेत अन्तिम समयमा आए स्थगित हुन पुगेको छ । कार्यक्रम स्थगित हुँदा छनोटमा परिसकेका कृषकहरु समेत प्रभावित भएका छन् । प्रदेश सरकारले ल्याएको किसानमूखी कार्यक्रमले किसानको माागलाई संबोधन गरे पनि कोरोनाको महामारीले किसानलाई निरास बनाएको छ ।
बजारीकरण नहुँदा कृषक समस्यामा बन्दाबन्दीका बेला कृषकले उत्पादन गरेको कृषिउपजको बजारिकरण नहुँदा कृषक समस्यामा परेका छन् । लकडाउनका बेला जिल्लामा केही संघसंस्थाहरुले कृषि एम्बुलेन्समार्फत कृषकले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याइदिए पनि कृषकले उचित मूल्य पाउन नसक्दा समस्यामा परेका हुन् । बन्दाबन्दीले बजारीकरण नहुँदा कृषकले मेहनत गरे अनुसारको प्रतिफल पाउन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update