Shittalpati
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान गर्नुको साथै सञ्चालनको लागि तालिम समेत दिइएको छ । उक्त सामग्री गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले संयुक्तरुपमा कृषकलाई वितरण गरेका थिए ।

सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले गाउँपालिकालाई कृषिबाटै समृद्धि हासिल गर्ने र आमनागरिकहरुलाई कृषिमा आत्मानिर्भर गराउनका लागि अनुदानमा सामग्री वितरण गर्दै आएको बताए । उनले कृषकहरुलाई अनुदानको सदुपयोग गर्न आग्रह गरेका छन् । उपाध्यक्ष चिदीले कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिका कारण भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको बताईन् । मानविय जीवनको महत्वपूर्ण पाटो कृषि भएकाले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले सीप र प्रविधिको सहि प्रयोग गरेमा आत्मनिर्भरताको लागि सहज हुने बताएका छन् । उनका अनुसार विभिन्न कृषि सञ्जालमार्फत हाते ट्याक्टर र बेसार पिस्ने मेसिन वितरण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update