Shittalpati
छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटना तथा अन्य घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन, करेन्ट लागेर दुई, डुबेर एक र मृत अवस्थामा दुई जना फेला परेका हुन् ।

सवारी दुर्घटनाअन्तर्गत नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–३ सोमनाथ पुल नजिक अज्ञात सवारीसाधनले लु.८३ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल–६ का ४० वर्षीय राजेन्द्र ढकालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार सवारीसाधनको खोजी भइरहेको छ । त्यसैगरी झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित सडकमा पिकअपको ठक्करबाट ७० वर्षीय पैदलयात्री प्रल्हाद शिवाकोटीको मृत्यु भएको छ । घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।  दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१ च ५१०४ नम्बरको पिकअपले उनलाई ठक्कर दिएको थियो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीको हरिवन नगरपालिका–४ गणेश चोकमा ट्रकले साइकललाई ठक्कर दिँदा हरिपुर नगरपालिका–५ का  साइकलयात्री ५० वर्षीय पंचलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । म.प्र ०३–००२ ख ११९४ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं र सर्लाहीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० स्थित इँटाभट्टामा काम गर्ने सिराहा घर भएका ४० वर्षीय दानबहादुर विकको मेसिनमा जमेको पानी फाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको वेष्ट सिटी अस्पताल सिप्रदीमा  उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । सर्लाहीको मलंगवा नगरपालिका–९ का २९ वर्षीय रामईश्वर महतोको आफ्नै घरमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । उनलाई उपचारका लागि जनकपुर लगिए पनि बचाउन सकिएन । काब्या अस्पताल जनकपुरमा थप उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मा बस्ने गणेश बहादुर धामीको छोरा १२ वर्षीय सलिम धामीको सोही ठाउँस्थित  लिक्मा खोलामा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको केबि सौगात पोलिक्लिनिक बढैपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देही र कैलालीमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १९ बीचको मोतिपुर दुईमुहानस्थित नहरमा करिब ४५ वर्षीया एक महिलाको शव फेला परेको छ भने कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरस्थित खोपडी खोलामा ७२ वर्षीय लालबहादुर बटलाको शव फेला परेको छ । प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update