Shittalpati
सुनसरी घटना : कर्फ्यु  र निषेधाज्ञा, एक जनाको मृत्यु

काठमाडौँ,  सुनसरीको देवानगञ्जमा भएको घटनापछि बिभिन्न जिल्लामा प्रदर्शन थप चर्किएपछि बिहीबार सुनसरी, धनुषा र सिरहामा स्थानीय प्रशासनले लगाएको छ । सिरहाको गोलबजार र लहान क्षेत्रमा प्रशासनले कर्फ्यु  आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो  । लहानमा पनि तनाव बढेपछि अपरान्हदेखि त्यहाँ पनि कर्फ्यु जारी गरिएको छ । जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण गर्दै पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा ४ को क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु  लागू गरिएको छ ।

कर्फ्यु  लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, सभा, बैठक नाराबाजी गर्न नपाइने प्रशासनको सूचनामा छ । गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ । विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो । जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update