Shittalpati
गोपालमान श्रेष्ठको निधनप्रति नेपाली काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त

पाल्पा, नेपाली कांग्रेस पाल्पाले पार्टीका वरिष्ठ नेता, पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा शोक वक्तव्य जारी गर्दै निधनको खबरले पाल्पा काँग्रेस स्तब्ध भएको  भन्दै दुःख व्यक्त गरिएको हो ।

सभापति श्रेष्ठले नेपाली कांग्रेस पाल्पा तथा आफ्नो व्यक्तिगत तर्फबाट स्वर्गीय गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

वक्तव्यमा गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीका साथै शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भू–संरक्षण तथा उद्योगमन्त्रीका रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै देश र जनताको सेवामा समर्पित जीवन बिताएको जनाइएको छ । उनी २०१७ सालदेखि निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय रहँदै २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेस पाल्पाले स्मरण गरेको छ । लोकतन्त्र, संविधान र जनअधिकारको पक्षमा उनले पुर्‍याएको अतुलनीय योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update