Shittalpati
संरक्षण नहुँदा गिद्ध सङ्कटमा

पाल्पा, पाल्पासहित पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन् ।
    
कुनै समय यहाँको आकाशमा सहजै देखिने गिद्ध आजभोलि देख्न पाइँदैन ।  विशेष  गरी यहाँका बतासेडाँडा, श्रीनगरडाँडा सहित वन क्षेत्र र खुला मैदानमा मृत जनावरमाथि झुन्डिएर देखिने गिद्ध अहिले देख्न मुस्किल पर्छ । गिद्ध प्रकृतिको एक अभिन्न अंग रहे पनि त्यसको संरक्षणमा कसैले पनि चासो नदिदा लोप उन्मुख अवस्थामा पुगेको पाइन्छ । गिद्ध संरक्षणका लागि कुनै पहल नभएको र यसका लागि सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने  तानसेनका विष्णु अधिकारी को भनाइ छ । उनले भने, “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।” गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा अधिकारीको जोड छ । 
    
गिद्धले मरेका जनावरको सिनो छिट्टै खाएर वातावरण सफा राख्ने काम गर्छ । यदि गिद्ध नहुने हो भने सिनो लामो समयसम्म सड्ने, दुर्गन्ध फैलिने तथा विभिन्न रोगका जीवाणु फैलिने जोखिम बढ्छ । यसले मानिस र पशु दुवैको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार गिद्धको संख्या घट्नुको प्रमुख कारण पशु उपचारमा प्रयोग गरिएको डाइक्लोफेनाक  नामक औषधि हो । यो औषधि प्रयोग गरिएका गाई–भैँसी वा अन्य चौपाया मरेपछि त्यसको मासु खाने गिद्धको मिर्गौलाले काम गर्न छोड्छ र केही दिनमै गिद्ध मर्ने गर्छ । यसका अतिरिक्त वन विनाश, खाद्यान्नको अभाव, विषादीको प्रयोग, विद्युत् तारमा ठोक्किने दुर्घटना तथा बासस्थानको विनाशले पनि गिद्धको अस्तित्व संकटमा परेको छ । 
    
जिल्लामा गिद्ध लोप हुँदै जान थालेपछि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले  संरक्षणका लागि विद्यालयस्तरमा सचेतना अभियान भने चलाउन थालेका छन् । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको सहयोगमा यहाँका विद्यालयहरुमा गिद्ध वासस्थान संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको हो । समूहले केही महिना अघि तानसेनको दमकडा माविका विद्यार्थीहरुलाई गिद्ध संरक्षका बारेमा जानकारी गराएको छ । लोपोन्मुख गिद्ध संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले विद्यालयस्तरका विद्यार्थीहरूमा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको समुहका अध्यक्ष लोकनाथ घिमिरेले बताए ।

उनले भने“गिद्ध संरक्षण एक जनाले मात्र गरेर हुँदैन समुदायस्तरको पनि उतिकै भूमिका रहन्छ । विद्यार्थीमार्फत समुदायमा सचेतना जगाउन हामीले पहिलो चरणमा विद्यालस्तरमा सचेतना कार्यक्रम गरिरहेका छौं ।” उनले गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएकाले त्यस्ता रुखहरुको संरक्षण गर्न सके गिद्धको संरक्षण गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीहरुमा  पुर्‍याउन सके समुदायमा छिट्टै पुग्न सक्ने आफुहरुले विश्वास लिएको बताए ।


 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update