पाल्पा, दाङमा अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घोराही उपमहानगरपालिका–१५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका–१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १ सय ७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


