पाल्पा, जिल्लाको तानसेन नगरपालिका–१२ गाईघाटस्थित पाल्पा–गुल्मी सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको इट्टा लोड गरिएको टिपर दुर्घटना हुँदा टिपरका सहचालक बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङ निवासी २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको हो ।
ओरालोमा आफैं अनियन्त्रित भई टिपर सडकमा पल्टिदा कुमाल गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाएको थियो । उपचारकै क्रममा कुमालको राति करिब ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा चालक २७ वर्षीय मिनबहादुर कुमाल भने सामन्य घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । अहिले उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


