तानसेन, उच्च शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई नैतिक, इमानदार, निष्ठावान, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा रहेको पाल्पा बहुमुखी क्याम्पसले आयोजना गरेको कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बधाइ कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
उनीहरुले गुणस्तरीय उच्च शिक्षा नै सक्षम, इमानदार, निष्ठावान र जिम्मेवार नागरिक निर्माणको आधार भएकोमा जोड दिए । देशलाई सक्षम नेतृत्वकर्ता, अनुसन्धानकर्ता, चिन्तक र दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै उनीहरूले युवाले विषय छनोटदेखि जीवनको लक्ष्य निर्धारणसम्म विवेकपूर्ण निर्णय लिनुपर्नेमा बताए । विद्यालय तह पार गरेका युवाहरूको भविष्य केवल विषय छनोटमा मात्र सीमित नहुने भन्दै, सहभागीहरुले व्यक्तित्व, नेतृत्व क्षमता, नैतिकता र सामाजिक उत्तरदायित्वको विकासमा उच्च शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनीहरूले राष्ट्रलाई आवश्यक नेतृत्वकर्ता, अनुसन्धानकर्ता, चिन्तक र दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक, सीपमुखी र मूल्यमा आधारित बनाउनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा उत्प्रेरक तथा अनुसन्धान व्यवस्थापन समितिका संयोजक गोपालप्रसाद वश्यालले ‘भविष्यको मार्गचित्र’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विषय छनोट गर्दा अरूको प्रभावभन्दा आफ्नै रुचि, क्षमता, शैक्षिक उपलब्धि र भविष्यका अवसरलाई आधार बनाउनुपर्ने सुझाव दिए ।
उच्च शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम नभई जीवन निर्माणको आधार भएकाले विद्यार्थीले सोचविचार गरेर निर्णय लिनुपर्ने उनको भनाइ थियो । बीबीएस अध्ययन गर्न चाहने विद्यार्थीमा सञ्चार तथा नेतृत्व क्षमता, मध्यस्थता गर्ने सीप, डेटा विश्लेषण, लेखा प्रणालीसम्बन्धी ज्ञान तथा डिजिटल साक्षरता अपरिहार्य बन्दै गएको उल्लेख गर्दै बश्यालले बदलिँदो श्रमबजारले व्यवहारिक दक्षतालाई प्राथमिकता दिन थालेको बताए । उनले प्रत्येक विषयको आ–आफ्नै महत्व रहेको उदाहरण प्रस्तुत गर्दै भने, “एउटा डाक्टरले एक जना बिरामीको उपचार गर्छ, एउटा इञ्जिनियरले एउटा पुल निर्माण गर्छ, तर एउटा शिक्षकले सयौँ विद्यार्थीको सोच, चरित्र र भविष्य निर्माण गर्छ ।”
समाज रूपान्तरणमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले धारणा व्यक्त गरे । अर्का उत्प्रेरक वक्ता विनोद भारतीले ‘सपनादेखि सफलतासम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै ठूलो सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर मेहनत गर्न विद्यार्थीलाई प्रेरित गरे । सफलताको यात्रा एकैपटक सम्भव नहुने उल्लेख गर्दै उनले साना–साना प्रयास, सीप विकास, अनुशासन र निरन्तरताबाट नै ठूलो उपलब्धि हासिल गर्न सकिने बताए ।
घसेटाका स–साना टुक्रा मिलेर आकर्षक कलाकृति बन्ने उदाहरण दिँदै भारतीले विद्यार्थीले पनि ज्ञान, सीप र अनुभवलाई क्रमिक रूपमा जोड्दै सफलताको उचाइ चुम्नुपर्ने बताए । स्पष्ट लक्ष्य निर्धारण, त्यसअनुसारको रणनीति र समयको प्रभावकारी व्यवस्थापनले मात्र सपना साकार हुने उनको भनाइ थियो । सामाजिक सञ्जालमा अनावश्यक रूपमा बित्ने समयप्रति सचेत गराउँदै उनले जीवनको प्रत्येक क्षण अमूल्य भएकाले समयको सदुपयोग गर्दै अध्ययन, सीप विकास र आत्मविकासमा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि मेघराज पौडेलले पाल्पा जिल्लाका विभिन्न विद्यालयबाट कक्षा १२ उत्तीर्ण तीन दर्जनभन्दा बढी विद्यार्थीलाई सम्मान गर्दै लगनशीलता, आत्मविश्वास र लक्ष्यप्रतिको समर्पणले सफलता सुनिश्चित गर्ने बताए ।
उनले सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यको शुभकामना व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण भुसालले अनुशासित, इमानदार र जिम्मेवार विद्यार्थी उत्पादनका लागि क्याम्पसले गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भुसालको अध्यक्षता, क्याम्पस प्रमुख वीना केसीको स्वागत, क्याम्पस परीक्षा समिति संयोजक हरिमाया ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षाप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


