Shittalpati
आत्मदाह होइन, जीवन रोज्ने समाज निर्माण गरौँ

 बिदुर घिमिरे

मुगुका २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली । उनको परिवार, आफ्न्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना ।

कसैको मृत्युमा खिसिट्युरी गर्ने, राजनीतिक लाभ खोज्ने वा मानविय पीडालाई प्रदर्शनको विषय बनाउने अधिकार न मलाई छ, न कसैलाई हुनुपर्छ । मृत्युको पीडा मर्ने व्यक्तिभन्दा पनि पछाडी बाँचेका परिवार, आफन्त र समाजले वर्षौँसम्म बोकेर हिँड्नुपर्छ भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ । म गाउँको सामान्य परिवेशमा हुर्किएको मानिस हुँ । अभाव, दुःख, पीडा, संघर्ष र असमानता नजिकबाट देखेको छु । श्रम गरेर जीवन धान्ने मानिसदेखि चाकडी र चाप्लुसी गरेर अवसर खोज्नेहरू, संस्थाको स्रोतको दुरुपयोग गर्नेहरू, बिहानदेखि साँझसम्म कसैले चिया खुवाइदेला भनेर कुरेर बस्नेहरूदेखि सामान्य कामलाई अस्वाभाविक खर्च देखाउने प्रवृत्तिसम्म समाजका अनेक रूप देखेको छु । यिनै अनुभवका बीच गणेश नेपालीको आत्मदाहको घटनाले धेरै दिनदेखि मेरो मन अशान्त बनाएको छ । राति राम्रोसँग निदाउन समेत सकेको छैन । मेरो मनमा बारम्बार केही प्रश्न उठिरहेका छन् । सोही घटनाका सेरोफेरोमा रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

मानव जीवन अमूल्य छ । जीवनमा आउने दुःख, पीडा, असफलता, अन्याय वा निराशा क्षणिक हुन सक्छन्, तर जीवनको मूल्य सधैं उच्च रहन्छ । पछिल्ला वर्षहरूमा विभिन्न कारणले आत्मदाहजस्ता अत्यन्त दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस्ता घटनाले एउटा व्यक्तिको मात्र होइन, परिवार, समाज र राष्ट्रको पनि गहिरो क्षति गर्छ । त्यसैले आजको आवश्यकता आत्मदाहलाई समाधानका रूपमा होइन, जीवनलाई आशा, साहस र परिवर्तनको आधारका रूपमा रोज्ने समाज निर्माण गर्नु हो । यदि कुनै क्यान्सर वा दीर्घरोगीले उपचार नपाएको गुनासो गर्दै अस्पतालमै आत्मदाह गरिदिए भने के त्यसलाई समाधान मान्ने ? यदि कुनै विद्यार्थी शिक्षकको गाली वा परीक्षामा असफल भएर आत्मदाह गरिदियो भने ? श्रीमान–श्रीमतीबीचको विवाद, वैदेशिक रोजगारीको भिसा नलाग्नु, बैंकको ऋण तिर्न नसक्नु, कानुनी कारवाहीको सामना गर्नुपर्ने वा आफ्नै गल्तीका कारण समस्या आउँदा आत्मदाह गर्ने संस्कृतिलाई हामीले स्वीकार गर्ने कि निरुत्साहित गर्ने ? यी प्रश्नहरू कसैलाई दोष दिनका लागि होइनन् । बरु समाजलाई सचेत गराउनका लागि हुन् ।

आत्मदाह कुनै समाधान होइन । यो अत्यन्त दुःखद र अन्तिम निर्णय हो, जसले एउटा जीवन मात्र होइन, एउटा परिवारको भविष्य, बालबालिकाको सपना र समाजको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ । त्यसैले यस्ता घटनालाई भावनात्मक आवेगमा महिमामण्डन गर्नु, राजनीतिक लाभको साधन बनाउनु वा त्यसलाई अनुकरणीय संघर्षका रूपमा प्रस्तुत गर्नु अत्यन्त जोखिमपूर्ण हुन सक्छ । यसले संकटमा रहेका अन्य व्यक्तिलाई पनि गलत सन्देश दिन सक्छ ।

आत्मदाह प्रायः चरम निराशा, अन्यायको अनुभूति, मानसिक तनाव, आर्थिक समस्या, सामाजिक दबाब वा आफूलाई असहाय ठान्ने अवस्थासँग जोडिएको हुन सक्छ । यस्ता परिस्थितिमा व्यक्तिलाई दोष दिनेभन्दा पनि उसको अवस्था बुझ्ने, समयमै साथ दिने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण सिर्जना गर्नु महत्वपूर्ण हुन्छ । जीवन रोज्ने समाज निर्माण गर्न परिवारको भूमिका सबैभन्दा ठूलो हुन्छ । परिवारमा खुला संवाद, माया, सम्मान र भावनात्मक साथ भएमा धेरै समस्या सुरुमै समाधान हुन सक्छन् । त्यसैगरी विद्यालय, समुदाय, सञ्चारमाध्यम र राज्यले पनि मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने, परामर्श सेवामा पहुँच बढाउने र संकटमा परेकालाई सहयोग गर्ने प्रणालीलाई सुदृढ बनाउन आवश्यक छ । युवाहरूलाई असफलता जीवनको अन्त्य होइन, नयाँ सिकाइ र अवसरको सुरुआत हो भन्ने सोच विकास गराउनु आवश्यक छ । समाजमा एकअर्काप्रति सहानुभूति, सहयोग र सम्मानको संस्कृति विकास भएमा निराशामा रहेका व्यक्तिले आफू एक्लो महसुस गर्ने सम्भावना कम हुन्छ । समस्या जतिसुकै ठूलो भए पनि त्यसको समाधान खोज्न सकिन्छ भन्ने विश्वास जगाउनु नै जीवनमुखी समाजको आधार हो ।

हरेक नागरिकले आफ्ना वरिपरिका मानिसहरूको भावनात्मक अवस्थाप्रति संवेदनशील बन्नुपर्छ । कसैले असामान्य निराशा, एक्लोपन वा आशाहीनताको संकेत देखाइरहेको छ भने उसको कुरा ध्यानपूर्वक सुन्ने, साथ दिने र आवश्यक परेमा परिवार वा सम्बन्धित विशेषज्ञसँग जोड्न सहयोग गर्ने हाम्रो सामाजिक दायित्व हो ।

राज्य पनि आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैन । नागरिकले आफ्ना समस्या सुन्ने, गुनासो दर्ता गर्ने र निष्पक्ष सुनुवाइ पाउने प्रभावकारी व्यवस्था हुनुपर्छ । आर्थिक, सामाजिक वा प्रशासनिक समस्यामा परेका नागरिकका लागि सहज परामर्श सेवा, मानसिक स्वास्थ्य सेवा, कानुनी सहायता र छिटो न्यायको पहुँच सुनिश्चित गर्नुपर्छ । नागरिकले राज्यप्रति भरोसा गुमाउन थाले भने त्यसको असर लोकतन्त्रमाथि नै पर्छ । सरकारले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिनुपर्छ । स्थानीय तहदेखि संघीय सरकारसम्म आत्महत्या तथा आत्मदाह रोकथामका लागि जनचेतना अभियान, मनोसामाजिक परामर्श, संकट व्यवस्थापन सेवा र प्रभावकारी सहायता संयन्त्र निर्माण गर्न आवश्यक छ । विद्यालय, कलेज, कार्यस्थल र समुदायमा मानसिक स्वास्थ्यबारे खुला संवादको वातावरण बनाउनुपर्छ । सञ्चारमाध्यम, राजनीतिक दल, सामाजिक अभियन्ता र हामी सबैले पनि उत्तिकै जिम्मेवारी वहन गर्नुपर्छ । यस्ता घटनाको समाचार सम्प्रेषण गर्दा वा सार्वजनिक अभिव्यक्ति दिँदा आत्मदाहलाई प्रेरणादायी वा गौरवपूर्ण रूपमा प्रस्तुत गर्नु हुँदैन । बरु जीवन बचाउने उपाय, सहयोगका स्रोत र आशाको सन्देशलाई प्राथमिकता दिनुपर्छ । राजनीति भनेको मृत्युमाथि होइन, जीवनमाथि हुनुपर्छ । दुःखमा परेका नागरिकको समस्या समाधान गर्ने प्रतिस्पर्धा होस्, आत्मदाहको घटनाबाट लोकप्रियता खोज्ने होइन । एउटा गरिब नागरिकको मृत्यु कुनै राजनीतिक नारा बन्नु हुँदैन; त्यो राज्य, समाज र हामी सबैका लागि गम्भीर आत्मसमीक्षाको विषय बन्नुपर्छ ।

गणेश नेपाली अब फर्केर आउन्नन् । तर उनको दुःखद घटनाबाट हामीले एउटा पाठ भने सिक्नैपर्छ—कुनै पनि परिस्थितिमा आत्मदाह समाधान होइन । जीवन रहे सम्भावना रहन्छ । ‘निराशालाई होइन, आशालाई रोज्ने समाज निर्माण गरौँ । आत्मदाहलाई होइन, संवाद, न्याय, सहानुभूति र जीवनलाई प्रोत्साहन गरौँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्नु आजको साझा जिम्मेवारी हो ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update