पाल्पा, आज विभिन्न कार्यक्रम गरी विश्व खडेरीविरुद्धको संघर्ष दिवस मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित भू–उपयोग तथा प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण विश्वका धेरै क्षेत्रहरूमा खडेरी र भूमि क्षयीकरणको समस्या गम्भीर बन्दै गएको विज्ञहरूले बताएका छन् । यसले कृषि उत्पादनमा कमी, खाद्य असुरक्षा, जैविक विविधताको ह्रास तथा जनजीवनमा प्रत्यक्ष असर पारिरहेको छ । यस वर्षको दिवसको अवसरमा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था तथा वातावरण संरक्षणमा क्रियाशील संघसंस्थाहरूले भूमि संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो कृषि अभ्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा पनि पछिल्ला वर्षहरूमा अनियमित वर्षा, लामो सुख्खा अवधि तथा जलवायु परिवर्तनका असरहरू देखिन थालेका छन् । विज्ञहरूले वन संरक्षण, जलाधार क्षेत्रको व्यवस्थापन, वर्षा पानी संकलन तथा दिगो प्राकृतिक स्रोत व्यवस्थापनमार्फत खडेरीको जोखिम न्यूनीकरण गर्न सकिने बताएका छन् । दिवसका अवसरमा सरोकारवालाहरूले भूमि र पानी जोगाउने सामूहिक प्रयासलाई सशक्त बनाउन तथा भावी पुस्ताका लागि स्वस्थ वातावरण सुनिश्चित गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा,भू–संंरक्षणलगायत विभिन्न विषयमा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्राकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यका पुरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ । मानव जनसंख्याको वृद्धिसँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमी करणको ढिलो–चाँडो जोखिममा छन् ।

