Shittalpati
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’

पाल्पा,  नेपाली काँग्रेस पाल्पाले ‘जरा अभियान’ सुरु गरेको छ ।  केन्द्रीय समितिको परिपत्र अनुसार काँग्रेसले जिल्ला कार्यसमितिको बैंठक बसी गत  विहिबारदेखि जिल्लामा अभियान सुरु गरेको हो ।

पार्टी संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एकमहिने जरा अभियान’ सञ्चालन गरिएको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । अभियानअन्तर्गत क्रियाशिल सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवासँग र पार्टी बाहिरका शुभेच्छुकसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गरिने उनले एनजेडीलाई जानकारी दिए । सभापति श्रेष्ठले  भने, “सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको छ ।”

कांग्रेसले अभियानका लागि अभिमुखीकरण कार्यक्रम समेत  गरेको छ । प्राध्यापकहरु पुष्कर आचार्य र पुष्करराज रेग्मीले अभियान सम्बन्धी  प्रशिक्षण दिएका थिए ।  केन्द्रीय समितिले अभियानका लागि  पाल्पामा  अर्घाखाँचीकी निर्मला क्षेत्री र रुपन्देहीका हरिप्रसाद न्यौपानेलाई खटाएको छ । काँग्रेस केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहले अभियानलाई सार्थक पार्न सबै नेता कार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

काँग्रेस  पाल्पाले अभिमुखीकरण सँगै पाल्पा–१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सन्दीप राना, पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष समीर मान सिंह सहित पदाधिकारी तथा सदस्यहरू, लुम्बिनी प्रदेशको उद्योग वाणिज्य संघ एसोसिएट उपाध्यक्षमा निर्वाचित राजु महर्जन र पार्टी कार्यालयका पूर्व कर्मचारीहरूलाई सम्मान गरेको छ । जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको अध्यक्षता, उपसभापति ज्ञान बहादुर गाहाको स्वागत, सचिवहरु सन्तोष थापा र सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update