Shittalpati
बुटवलका किसानलाई कृषि उपकरण

बुटवल, बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई कृषि उपकरण दिएको छ । उसले मकै पकेट क्षेत्रका किसानलाई थप कृषिमा आकर्षित गर्नुको साथै उत्पादन बढाउने उद्देश्यले कृषि उपकरण दिएको हो । 

उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा ज्याप प्लान्टर १० थान, तराजु ५ थान, मिल २ थान तथा बिल सिडरलगायतका सामग्री वितरण  गरिएको पालिकाको कृषि शाखाले जनाएको छ । उसले एक औपचारिक कार्यक्रमका बिच किसानलाई उपकरण हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल वडा न १४ मोतीगञ्जमा आयोजित कार्यक्रममा उपकरणहरू हस्तान्तरण गरेका हुन् । उनले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई ती उपकरण दिएका छन् । उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले व्यवसायिक कृषिबाट बाट आर्थिक समृद्धि हासिल हुने भन्दै  व्यवसायिक कृषिमा लाग्न किसानलाई आग्रह गरे । यस क्षेत्रका वडाहरूलाई कृषि उत्पादनमा अग्रणी बनाउन उपमहानगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको समेत उल्लेख गरे । नगर प्रमुख पाण्डेयले बुटवललाई मकै पोल्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै किसानले उत्पादन गरेको मकै आफैँले बिक्री गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । “किसान आफैँले उत्पादन र बिक्री गर्ने व्यवस्था भएमा आम्दानीको ठूलो हिस्सा किसानकै हातमा पर्छ,” उनले भने, “यसका लागि नगरले आवश्यक व्यवस्थापनको उपाय खोजिरहेको छ ।” उनले कृषि उत्पादनको बजारीकरणलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपाने र वडा नम्बर १९ का अध्यक्ष चन्द सिंह थापाले समेत कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका संयोजक तुलसीप्रसाद पौडेलका अनुसार यस वर्ष ३५.५ बिघा क्षेत्रफलमा व्यावसायिक मकै खेती गरिएको छ । २०७९ सालमा वडा नं १४ र १९ को मोतीगन्जलाई मकै पकेट क्षेत्र घोषणा गरिएपछि १६ जना कृषकबाट सुरु भएको व्यावसायिक खेती अहिले ५३ जना कृषकसम्म विस्तार भएको छ । यहाँ गत वर्ष करिब एक  करोड रुपियाँ बराबरको मकै बिक्री भएकोमा यस वर्ष एक करोड ३० लाख रुपियाँको हरियो मकै बिक्री गर्ने लक्ष्य राखिएको मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका सचिव मुक्ति गैरे अर्जुनले बताए  ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update