Shittalpati
गुणस्तरीय शिक्षा समृद्धिको आधार बनाऔं

कुनै पनि राष्ट्रको दीर्घकालीन प्रगति र समृद्धिको आधार शिक्षा हो । शिक्षा केवल ज्ञान आर्जन गर्ने माध्यम मात्र होइन नागरिकलाई सचेत, सक्षम र जिम्मेवार बनाउने शक्तिशाली साधन पनि हो । नेपालमा विगत केही दशकयता शिक्षाको पहुँच विस्तार भएको देखिए पनि यसको गुणस्तर, समानता र व्यवहारिकता अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ ।

शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिनु आजको आवश्यक हो । धेरै विद्यालयमा अझै पनि शिक्षण पद्धति पुरानै ढाँचामा सीमित छ । पाठ्यक्रमलाई समयानुकूल, सीपमूलक र व्यवहारिक बनाउनेतर्फ सरकारको ध्यान जान सकेको छैन । यो अत्यन्त दुखद् हो । विद्यार्थीले केवल परीक्षा पास गर्ने ज्ञान होइन, जीवनमा उपयोगी सीप र सोच विकास गर्ने अवसर पाउनुपर्छ । त्यसका लागि शिक्षकको क्षमता अभिवृद्धि र नियमित तालिमको व्यवस्था अपरिहार्य छ । अर्को महत्वपूर्ण पक्ष शिक्षामा समान पहुँच सुनिश्चित गर्नु हो । दुर्गम क्षेत्रका बालबालिका अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय, प्रयोगशाला र प्रविधिमा पहुँच विस्तार गर्न सके मात्र शिक्षा वास्तवमै समावेशी बन्न सक्छ । साथै आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई छात्रवृत्ति र सहुलियत प्रदान गर्नु पनि उत्तिकै आवश्यक छ । 

आजको विश्व सूचना र प्रविधिको युगमा अघि बढिरहेको छ । त्यसैले नेपालको शिक्षामा पनि डिजिटल प्रविधिको प्रभावकारी प्रयोग बढाउनुपर्छ । सूचना प्रविधिमा आधारित शिक्षाले विद्यार्थीलाई विश्वस्तरका ज्ञान र अवसरसँग जोड्न सक्छ । तर यसका लागि इन्टरनेट पहुँच, उपकरण र शिक्षकको डिजिटल सीप विकासमा लगानी आवश्यक छ । त्यसैगरी, शिक्षा र रोजगारीबीचको सम्बन्धलाई बलियो बनाउनुपर्छ । अहिलेको शिक्षा प्रणालीबाट धेरै विद्यार्थी डिग्री त लिन्छन्, तर रोजगारका लागि आवश्यक सीपको अभाव देखिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिएर युवा पुस्तालाई उत्पादनमुखी बनाउने नीति अवलम्बन गर्नु आवश्यक छ । समग्रमा हेर्दा शिक्षाको विकास केवल नीतिगत घोषणाले मात्र सम्भव हुँदैन् । यसको लागि प्रभावकारी कार्यान्वयन, पर्याप्त लगानी र दीर्घकालीन सोच आवश्यक हुन्छ । जब शिक्षा प्रणालीलाई गुणस्तरीय, व्यवहारिक र समावेशी बनाउन सकिन्छ, तब मात्र नेपालले दिगो विकास र समृद्धिको बाटोमा ठोस कदम चाल्न सकिन्छ । तसर्थ शिक्षाको वास्तविक विकासका लागि राज्य, समाज र सरोकारवाला सबैले समन्वयात्मक प्रयास गर्नु अपरिहार्य छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update