Shittalpati
निर्वाचन परिणामले दिने सन्देश 

अनेकौं शंकाहकाहरुका बिच प्रतिनिधिसभाको निर्वाचन भएको छ । निर्वाचनको परिणाम आउने क्रमम जारी छ । यो निर्वाचन पूर्णरूपमा सफल भएको मान्नुपर्छ । यसपटकको निर्वाचन फरक परिस्थितिमा भएको हो ।  नयाँ छान्ने र परिवर्तन खोज्ने अनि प्रणाली बसाल्ने युवा आवाजको चर्को दबाबका बीच चुनाव भएको हो । २०८२ सालको भदौ २३ र २४ गते जुन अकल्पनीय हिंसा र वितण्डाको जगबाट नै यो निर्वाचनको प्रारम्भ भएको थियो ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति बलियो जनादेश प्रकट भएको छ । मतगणनाको अन्तिम परिमाण आउन अझै केही दिन लाग्ने भए पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपालाई बलियो जनादेश छ । यो निर्वाचन नियमित आवधिक निर्वाचन थिएन । गएको भदौ २३ र २४ गते भएको नवपुस्ता अर्थात् जेनजी विद्रोहको मर्म र भावनालाई संस्थागत गर्ने निर्वाचनमा जनादेश पनि सोही अनुरूप हासिल भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट रूपान्तरित नेपाली कम्युनिस्ट पार्टीले विगतमा पटक पटक सरकारको नेतृत्व गरे । नेपाली जनताको अवस्थामा भने खास सुधार हुन सकेन । बढ्दो भ्रष्टाचार, शिथिल अर्थतन्त्र, रोजगारीको अभावले जनअसन्तुष्टि बढ्दै गयो । जसको परिणाम अहिलेको अवस्था आएको हो ।

अहिलेको अवस्थामा निर्वाचन सम्पन्न हुनसक्ला वा नसक्ला ? भयो भने पनि धेरैतिर हिंसामा लपेटिनुपर्ने अवस्था आउँछ भन्ने अनुमान सबैको थियो । त्यतिमात्र होइन नेपालको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री र अर्कोतिर त्यो पनि कठिन मोडमा निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा बस्नुभएको सुशीला कार्कीप्रति धेरैको भरोसा थिएन तर उहाँ प्रधानन्यायाधीश भइसक्नुभएकी र त्यसबेला पनि अनेक अप्ठेरा परिस्थितिहरूलाई डटेर सामना गरेकी महिला भएका कारणले यसपटकको निर्वाचनमा उनीलगायत उनले नेतृत्व गरेको सरकारले यो जिम्मेवारी कुशलतापूर्वक पूरा ग¥यो । पूर्ववर्ती सरकारले गराएका पहिलेका निर्वाचनहरू जस्तो अशान्त वा हिंसात्मक भएन । प्रचारप्रचार पनि अत्यन्त व्यवस्थित र कुशलतापूवृक भयो । दलहरूका बीचमा कुनै वैरभाव देखिएन । केही फाट्टफुट्ट यस्ता घटना भए, ती सामान्य हुन् किनभने पहिले पहिलेका निर्वाचनमा अनेक अप्रिय घटना हुन्थे । शान्त र एकप्रकारले निष्पक्ष निर्वाचनको परिणामलाई सबैले स्वीकार्नै पर्छ । त्यो निर्वाचनको सिद्धान्तै हो । अहिले देखिएको परिणामले जनताले परिवर्तन चाहेको पुष्टि भएको छ । परिणाम जसको पक्षमा आए पनि जित नेपाली जनताको भएको छ । जनताले सुझबुझका साथ मतदान गरेका छन् । निर्वाचनका माध्यमबाट आएको परिणामलाई सबैले आत्मसात गर्दै अगाडि बढेर सुनौलो नेपाल बनाउनुपर्ने दायित्वबाट कोही पनि विमुख हुनुहुँदैन । 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update