Shittalpati
अन्तर्राष्ट्रिय नारी दिवसको औचित्य

अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नारी मुक्तिको सवाललाई लिएर नेपालसहित विश्वभर प्रत्येक वर्ष मार्च ८ मा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको छ । यो दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको परिलक्ष्य हो । राजनीतिक तवरबाट सुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको छ । तर बिडम्वना, नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएका छैनन् । जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने नेपाली महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु जनाएको पनि छ । तर त्यो प्रतिवद्धता कार्यान्वन भने हुन सकिरहेको छैन । महिला अधिकार र समानताको नारा जतिसुकै घन्किए पनि छोरी र बुहारीलाई गर्ने व्यवहारमा परिवर्तन आउन सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो ।

नेपालमा केही महिलाहरूले नेतृत्व नलिएका हैनन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री सुसीला कार्की र सभामुखमा ओनसरी घर्ती जस्ता महिलाहरु सरकारको नेतृत्व तहमा पुगे, जुन सकारात्मक पाटो हो । तर, यतिमै मात्र चित्त बुझाएर बस्ने अवस्था भने यो होइन, कानुन प्रदत्त अधिकार कार्यान्वनमा अझै थुप्रै समस्या छन् । नयाँ संविधान र यसका प्रावधानलाई कार्यान्वयन गर्दै हरेक क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गर्न जरुरी छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय नारी दिवसले सार्थकता प्राप्त गर्दछ ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update