Shittalpati
होली पर्व : संस्कृति जोगाऔं, सभ्य बनौं

रंगहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आज र भोलि धुमधामका साथ मनाइँदैछ । काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा आज र तराईमा भोलि होली मनाइँदैछ । विभिन्न थरीका रंगले खुसी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । अन्य ठूला–ठूला चाड जस्तै रमाइलो गरी मनाइँने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने  यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ ।

विसंगतिहरूलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ । होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सद्भाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ । यद्यपी होलीको नाममा कसैको इच्छा विपरीत रंङ छ्याप्ने, लोला हान्ने, फोहोर पानीमा मोबिल लगायत वस्तु राखेर बाटोमा खेल्ने गरिन्छ । यो चाँहि राम्रो होइन् । यस्ता गतिविधिले संस्कृतिको जगेर्ना नभई बदनामी मात्र गर्दछ । देश भित्र बसोवास गर्ने अधिकांश समुदायको साँस्कृतिक पर्वका रुपमा रहेको होलीलाई मनोरञ्जनका रुपमा मात्र मनाउँदा विकृतपूर्ण बन्दै गएको छ । यसका लागि युवावर्ग सचेत हुन आवश्यक छ । आखिरमा यसपर्वको उद्देश्य एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, खुसीयाली बाँड्नु नै हो । यसर्थ पर्वको नाममा भित्रिएका विभिन्न खालका नकारात्मक विकृति विसंगतिको अन्त्य गर्दै सकारात्मक सोंचका साथ निःस्वार्थ भावनाले आफ्नो घरपरिवार, आफन्त, साथीभाइ, छिमेकी एक आपसमा हाँस्दै, रमाउदै माया, प्रेम साटसाट गरेर मर्यादित तरिकाले यस वर्षको होली पर्व मनाऔं । यस्ता पर्व पूर्खाले सुम्पेका सम्पत्ति हुन् । यिनलाई जोगाउन सकिएन भने पर्वको महत्व कम हुँदै जानेछ । तसर्थ होली पर्वलाई सभ्य र सुुसंस्कृति तरिकाले मनाऔं सबैमा होलीको शुुभकामना ¤

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update