प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा भ्रामक सूचना, भिडियो र एआई निर्मित सामग्रीको बाढी आएको छ । गलत सूचना, चरित्रहत्या र सुनियोजित दुष्प्रचारले मतदाताको निर्णय प्रभावित पार्ने निश्चित छ । मिथ्या सूचना कतिले जानीजानी फैलाएकाछन्, कतिले अञ्जानमा । मानवीय स्वभाव नै छ—झुटो चाहिँ पत्याइहाल्छ र सत्यचाहिँ मुस्किलले भरोसा गर्छ । सामाजिक सञ्जालमा मिथ्या सूचनाहरु फैलाउने गरिएको छ ।.यस्तो अवस्थामा निर्वाचनलाई पूर्णतः निष्पक्ष र स्वतन्त्र हुन्छ भन्न सक्ने अवस्था छैन् । उम्मेदवार र दलहरू सामाजिक सञ्जालमा प्रचारमा करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । आफ्नै प्रचार मात्र होइन, प्रतिस्पर्धीविरुद्ध भ्रामक सामग्री उत्पादन र प्रसार भइरहेका संकेतहरू स्पष्ट छन् । विभिन्न नारा, कृत्रिम भिडियो र सन्दर्भविहीन क्लिपहरूले मतदातालाई भ्रमित पारिरहेका छन् । एआईको सहायताले बनाइएका भिडियोमा कसैले नबोलेको कुरा बोले झैं देखाइन्छ, नगरेको काम गरेको जस्तो प्रस्तुत गरिएका छन् । सामान्य मतदाताले कुन सही, कुन गलत छुट्याउन सक्ने अवस्था छैन् । निर्वाचन आयोगले साइबर सेल गठन गरेको, कल सेन्टर सञ्चालन गरेको र सामाजिक सञ्जाल कम्पनीसँग छलफल गरेको सकारात्मक कदम त हो । तर पर्याप्त होइन । प्रविधि छैन भनेर उम्मेदवार वा मतदाताहरू साइबर हिंसाका शिकार भइरहनुपर्ने अवस्था राम्रो होइन ।
निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्छ । यसर्थ, आगामी निर्वाचनलाई निष्पक्ष, सभ्य भव्य तथा प्रभावकारी रूपमा सम्पन्न गर्न आचारसंहिता मात्र पर्याप्त हुँदैन । आचारसंहिता कुनै पनि निर्वाचनलाई भयमुक्त रूपमा सम्पन्न गर्ने एउटा आघारशीला हो । चुनावको निष्पक्षता, विश्वसनीयता तथा पारदर्शिताको निर्धारक तत्व भनेको मानवीय व्यवहार र आचरण नै हो । दण्ड र सजायको भयले मात्रै चुनाव निष्पक्ष हुने होइन । यसका लागि सत्य, तथ्य सूचनाहरु सम्प्रेषण गर्न जरुरी हुन्छ । यसका कारण लोकतान्त्रिक अभ्यास र भावनाको कदर मात्रै नभई, हाम्रो भोटको दुरुपयोग हुनबाट समेत जोगिन सकिन्छ । यसबाट मात्र हामीले नै रोजेको र खोजेको हाम्रै प्रतिनिधि प्राप्त हुनेछ ।

