पाल्पा,नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र सहज इन्टरनेटको पहुँच पुर्याउने आफ्नो संकल्प रहेको बताएका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि गाउँ–गाउँ पुगेर मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका उनले मतदाताहरुसँग यस्तो संकल्प गरेका हुन् । गाउँ– गाउँमा पुग्दा अझै पनि धेरै ठाउँहरुमा स्वच्छ खानेपानी र सहज इन्टरनेटको अभाव रहेको भन्दै उनले आफु विजयी भएर संसद्मा पुगेपछि जिल्लाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र सहज इन्टरनेटको पहुँच पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने “पाल्पा क्षेत्र नं. २ का विभिन्न ठाउँमा अझै पनि स्वच्छ खानेपानी र इन्टरनेटको सहज पहुँच सपना जस्तै बनेको छ । नागरिकले अनिवार्य रूपमा पाउनुपर्ने यी आधारभूत सुविधाहरू मेरा लागि केवल मुद्दा होइनन्, मेरो आवाज र संकल्प हुन् । स्वच्छ खानेपानी र ईन्टरनेटको आवश्यकतालाई पूरा गर्न म दृढ प्रतिबद्ध छु ।”
उनले मतदाताहरुसँग एक पटक संसद्मा जाने अवसर दिएमा यी संकल्प पुरा गर्ने बताए । नेता श्रेष्ठले भने “दिर्घकालीन योजना र भिजन भएको व्यक्ति केन्द्रीय पहुँच नहुँदा सम्भावना भएर पनि पाल्पा पछि परेको छ, यसका लागि भिजन भएको व्यक्ति अहिलेको आवश्यकता हो । ” उनले आफुसँग पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउन सक्ने स्पष्ट भिजन र योजना रहेकाले एक पटक भारी मतले विजयी बनाएर संसदमा पठाइदिन मतदाताहरुलाई आग्रह गरे । नेता श्रेष्ठले भने “ पाल्पालाई समृद्ध बनाउने स्पष्ट भिजन म सँग छ । त्यो भिजनलाई कार्यान्वयन गर्न यहाँले मलाई एक पटक संसद्मा जाने मौका दिनुहोस् , म पाँच वर्ष भित्रमा पाल्पालाई देशकै नमूना र समृद्ध जिल्लाको रुपमा चिनाउन्छु ।”


