पाल्पा, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ । विगत लामो समयदेखि यहाँका राजनीतिक दलहरुले एउटै व्यक्तिलाई पटक–पटक उम्मेदवार बनाउने र उनीहरुबाट कुनै पनि काम नभएपछि निराशा बनेका पाल्पाका मतदाता यस पटक भने नेपाली काँग्रेसले नव युवाहरुलाई चुनामी मैदानमा पठाएपछि भने उत्साह छाएको हो ।
निर्वाचन मिति नजिकिदैं जाँदा दुवै उम्मेदवार मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त छन् । उनीहरुलाई मतदाताले गाउँ–गाउँमा भव्य स्वागत गर्नेदेखि आर्शीवाद दिने गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेता मैदानमा उत्रिएपछि यहाँका अधिकांस युवाहरुले साथ दिएका छन् भने जेष्ठ नागरिकले आर्शीवाद दिएका छन् ।
काँग्रेसमा युवा नेतृत्व आएपछि देश र भेष बदल्ने आशाका साथ युवाहरुले राना र श्रेष्ठलाई साथ दिएका छन् । यहाँका दुई वटै क्षेत्रमा अहिले अन्य पार्टी परित्या गरी युवाहरु काँग्रेसमा प्रवेश गर्ने क्रम समेत बढेको छ । उम्मेदवारी मनोनयनपछि पाल्पाका अन्य पार्टी परित्याग गरी काँग्रेसमा दुई सय ५० जना प्रवेश गरिसकेको काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरेले बताए ।
क्षेत्र नं.२ का उम्मेदवार हिमालदत्त श्रेष्ठले गाउँ –गाउँ पुग्दा जेष्ठ नागरिकहरुले दिने माया र आशीर्वाद तथा युवा पुस्ताले दिइरहेको साथले आफूलाई जितको लागि सहज भइरहेको बताए । लामो समयदेखि पश्चिम पाल्पामा सत्ता बिमुख भएका कांग्रेसजन र आमनागरिकले पाएको पीडा र भोगेको अन्याय चिर्नलाई कांग्रेसले जित निकाल्ने उनको भनाइ छ । जिल्लामा विकास प्रक्रियामा भएको विभेद, दलीय दम्भ र अन्यायमा परेका आम नागरिकले आफ्नो उम्मेदवारीलाई विकास, समृद्धि, न्याय र समानताको रुपमा लिएको उम्मेदवार श्रेष्ठको भनाइ छ । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि परिवर्तित समयको माग र सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धतासहित घरदैलोमा कार्यकर्ता भेटघाट गरिरहेको उनको भनाई छ ।
क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार सन्दीप रानाले जेनजीको आन्दोलन पछि हुन लागेको चुनाव, बदलिएको कांग्रेसले लड्दै गरेको चुनाव र ३३ वर्ष पछि पाल्पाको नेतृत्व परिवर्तनका लागि हुन लागेको निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताए । अहिले आम मतदातामा कांग्रेसप्रति देखिएको जुन उत्साह छ त्यसले हामीहरुलाई थप उर्जा मिलेको रानाको भनाई छ । नेपाली कांग्रेसका समनुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले देशैभर कांग्रेसको लहर आएको बताउँदै देशलाई जिताउन कांग्रेसलाई जिताउनु पर्ने बताए । उम्मेदवारहरु सँग नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, काँग्रेस निर्वाचन परिचालन समिति पाल्पाका संयोजक बिर बहादुर राना, पूर्व केन्द्रीय सदस्य हरी नेपाल लगायतका नेताहरु घरदैलोमा पुगेका छन् ।


