Shittalpati
प्रतिनिधि सभा निर्वाचन : पाल्पामा निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास

तानसेन (पाल्पा), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नमुना मतदानमा सहभागी गराएको छ । प्रहरीले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन उनीहरुलाई मतदान केन्द्रको नमुना अभ्यास गराएको हो  ।

निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले गरिएको सो अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा मतदान स्थल वरपरको सुरक्षा घेरा, प्रवेश निर्गमन व्यवस्थापन तथा संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने कार्यविधिबारे स्पष्ट निर्देशन दिइएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए । उनले भने “निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ, त्यसका लागि व्यवहारिक अभ्यासमार्फत जनशक्तिलाई दक्ष बनाइएको हो ।”निर्वाचन प्रहरीलाई अभ्यस्त बनाउन ‘नमुना मतदान’ को अभ्यास समेत गराएको थियो ।

कार्यक्रमको निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले तालिमबाट प्राप्त सीप र ज्ञानलाई वास्तविक कार्यस्थलमा इमानदारीपूर्वक प्रयोग गर्न निर्वाचन प्रहरीलाई निर्देशन दिए । उनले उच्च मनोबलका साथ तोकिएको आचारसंहिताभित्र रहेर काम गर्न भनेका छन् । मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको संयुक्त प्रयासबाट नै मतदान व्यवस्थित रूपमा सम्पन्न हुन सक्ने उनले विश्वास व्यक्त गरे । “एक जना कर्मचारीले गर्ने व्यवहारका कारणले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन व्यवस्थापनमा असर पर्ने भएकाले आफूले के गर्न हुने र के गर्न नहुने विषयमा ख्याल राख्नुहोला,” उनले भने । मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका हुने प्रहरी उपरीक्षक थारुले बताए । उनले भने, “प्रहरीको पोसाक लगाएर आएपछि तपाईंहरू नागरिक होइन, यो समयमा तपाईंहरू निर्वाचन प्रहरी हो, तपाईंहरूले गर्ने व्यवहार नागरिक र लैङ्गिकमैत्री हुनुपर्छ ।” निर्वाचन प्रहरीलाई पनि अन्य प्रहरी कर्मचारी सरह नै व्यवहार हुने भएकाले केही गुनासो भए प्रहरी नायब उपरीक्षकलाई सम्पर्क गर्न सकिने उनले बताए  । तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी, सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका, निर्वाचन ऐन र कानुनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो ।

दुई निर्वाचन क्षेत्र रहेको  पाल्पामा एक हजार चार सय १४ निर्वाचन प्रहरीलाई परिचालन गरिने छ । यसबाहेक जनपद प्रहरी,सशस्त्र, नेपाली सेनाको विओपी र सिओपी पोष्टबाट समेत सुरक्षा प्रदान गरिनेछ । आगामी निर्वाचनका लागि पाल्पामा एक सय १८ मतदानस्थल तोकिएको छ भने दुई सय ५१ मतदान केन्द्र रहेका छन् । यहाँ २९ मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् ।  जिल्लाको निस्दी, माथागढी, रैनादेवीछहरा,तिनाउ, रामपुरलगायतका स्थानमा रहेका अधिकांश मतदान केन्द्र संवेदनशील रहेका छन् । नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशिल रहेको सुरक्षा समितिले जनाएको छ । पाल्पामा २ लाख ७ हजार ४ सय ३६ कुल मतदाता मध्ये क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन् । कुल मतदातामा ३ हजार ६ सय ५० महिला पुरुष भन्दा बढी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update