पाल्पा,नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले घरदैलोका क्रममा आफ्ना योजना मतदातासमक्ष बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्दै घरदैलो कार्यक्रममा व्यवस्त रानाले बाँझो जग्गाको उपयोग गर्नेदेखि परम्परागत उद्योगहरुको प्रवर्धन गर्ने योजना रहेको मतदातालाई सुनाउदै आएका हुन् ।
नेता रानाले माथागढी गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेर भएका जग्गाहरु बाँझो र उद्योहरु बन्द गरेर युवाहरु विदेश गइरहेको भन्दै अब तिनलाई उपयोग गरेर रोजगारी सिर्जना गर्ने योजनाहरु आफुले लिएर आएको बताए । उनले पर्यटन प्रवर्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, बाँझो जग्गाको सदुपयोग गरि उत्पादन वृद्धि गरी बजारिकरण गर्ने, स्थानीय उत्पादनको ब्राण्डिङ्गको लागि ‘भोकल फर, लोकल’ को नारा, परम्परागत उद्योगको प्रवर्धनको लागि योजना बनाएको सुनाए । उनले बाँसटारीदेखि बाकामलाङ डमरासम्म जोड्ने रिङ्गरोड निर्माण, आर्यभञ्ज्याङ्ग–ताहुँ–विरकोट–सिलुवा–रामपुर सडक, अरुणखोला– मित्याल– रामपुर सडक स्तरोन्नति संगै पालिका पहुँच मार्गलाई प्राथमिकताका साथ अघि बढाउने समेत बताए । उनले काँग्रेसका उम्मेदवारलाई विजय गराएर पठाएमा ति योजनाहरु पुरा हुने भएकाले फागुन २१ को निर्वाचनमा रुख चिन्हमा मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरे ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले जेनजी पुस्ताको भावनालाई समेट्ने गरी कांग्रेसले युवालाई अघि सारेको बताए । नेपाली कांग्रेस वडा कार्यसमिति माथागढी गाउँपालिका–८, पाल्पाका सभापति ज्ञान बहादुर ढेंगा, लालीसरा ढेंगाले पनि काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।


