Shittalpati
काँग्रेस बदलिएको छ, अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउन्छन् : उम्मेदवार श्रेष्ठ

पाल्पा,नेपाली काँग्रेस  पाल्पाका सभापति तथा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमादत्त श्रेष्ठले काँग्रेस बदलिएर आएकाले अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउने बताएका छन् । विहीबार प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दल रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको वृहत्त भेलालाई छहरामा सम्बोधन गर्दै उनले अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउने बताएका हुन् ।

नेपाली काँग्रेसकै नेतृत्वमा भएको सशस्त्र आन्दोलनकै कारण प्रजातन्त्रको उदय सम्भव भएको भन्दै अब संकटमा परेको प्रजातन्त्रलाई बदलिएको  काँग्रेसको माध्यमबाट  आमजनतालाई अनूभुति दिलाउने उनले उल्लेख गरे ।  उनले कांग्रेसले आफ्नो विरासत बोकेर नयाँ नीति र नेतृत्व लिएर आएको भन्दै युवाहरू अबको देश चलाउने महत्वपूर्ण शक्ति भएको र उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । श्रेष्ठले भने, “ २०१० साल कात्तिक १० गते नेपाल तरुण दलको स्थापना गर्दा बीपी कोइरालाको एउटा सपना थियो– प्रजातान्त्रिक समाजवादी विचारलाई युवाका माध्यमबाट जनतामा स्थापित गराउने । अहिले फेरी एक पटक काँग्रेस हामी युवाहरुको हातमा आएको छ ।

अब जनताले प्रजातन्त्रको अनुभूत गर्न पाउनुहुन्छ ।” उनले काँग्रेस बदलिएर आएकाले एक पटक काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराएर देशको नेतृत्व सम्हाल्ने अवसर प्रदान गरिदिन आममतदाताहरुलाई आग्रह गरे । उनले पश्चिम पाल्पाको शिक्षा, स्वास्थ्य र सिचाइ मुख्य चुनौती रहेको र यहाँको जग बलियो बनाउन युवाहरूले भोटमार्फत सक्रिय भूमिका खेल्नु पर्ने बताए । निर्वाचनपछि पछि बन्ने  नेपाली काँग्रेसको सरकारले गाउँमै कृषि, घरेलुु उद्योगहरुको स्थापना गरी युवाहरुलाई उद्यमीशीलता र रोजगार प्रदान गर्ने समेत श्रेष्ठले उद्घोष गरे ।

कार्यक्रममा काँग्रेस पाल्पाका निर्वाचन परिचालन समितिका संयोजक विरबहादुर रानाले कांग्रेससँग देश चलाउने अनुभव र उत्साह दुवै रहेको भन्दै मतदातालाई देशको नेतृत्व दिने जिम्मेवारी दिन आग्रह गरे । उनले धेरै युवाहरु रोजगारका लागि विदेशिनुु परेको भन्दै त्यसलाई रोक्नका लागि पनि  काँग्रेसलाई विजयी बनाउनुको विकल्प नरहेको बताए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य हरी नेपालले युवा स्वरोजगार र विदेशबाट फर्किएका युवाहरुलाई लगानीको सुनिश्चिता र लगानीको ग्यारेन्टी सहितका कार्यक्रम सञ्चालन गर्ने संकल्प काँग्रेसको रहेकोे बताए ।

कार्यक्रममा काँग्रेस नेता राम कार्की, नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन विष्ट, तरुण दलका  जिल्ला सभापति मेजर सिं केसी लगायतले फागुन २१ को निर्वाचनमा काँग्रेसलाई मतदान गर्न सबै युवाहरुलाई आग्रह गरे । सोही अवसरमा तरुण दलले ११ जना जेष्ठ क्रियाशिल, प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा विभिन्न  पार्टी परित्याग गरी काँग्रेसमा दुई दर्जन युवाहरु प्रवेश गरेको सचिवालय सदस्य दिपक पोखरेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले नयाँ अनुहार र युवा उम्मेदवारलाई उठाएपछि पश्चिम पाल्पामा युवाहरु उत्साहित भएका छन् । यस क्षेत्रमा काँग्रेसको पक्षमा जनलहर बढेको पोखरेलले बताए । कार्यक्रममा जेष्ठ नागरिकले उम्मेदवार श्रेष्ठलाई विजयीको आर्शिवाद समेत दिएका छन् । तरुण दल गाउँपालिकाका सभापति ज्ञानु कार्कीको अध्यक्षता, सचिव राजेश कार्कीको सञ्चालनमा वृहत्त  भेला भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update