Shittalpati
फागुन ७ को सान्दर्भिकता

फागुन ७ गते नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो ।  आजकै दिन बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको थियो । जुन दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा समाहित हुँदै गर्दा मुलुक अहिले आएर अत्यन्तै राजनैतिक गम्भीर अवस्थाबाट गुज्रिरहेको अवस्था छ । लोकतान्त्रिक संविधान निर्माण र लागु पछिका आधा दशकले वर्तमान व्यवस्थाप्रति पनि जनताको अवस्थामा कमी आएको महशुस गर्न सकेका छैनन् । हिजो हाँसीहाँसी फाँसीमा चढ्दै गर्दा सहिदहरुले सत्तामा पुगिन्छ र सुख शैल गरिन्छ भन्ने भन्दा पनि देशलाई जहानीय शासनबाट मुक्त गरे पनि सन्ततिले प्रजातन्त्र प्राप्त गर्छन् भन्ने चिन्ता बाहेक कही पनि थिएन । तर आज हामीले त्यो अवस्थाको उपभोग गर्न पाइरहदा जनताका न्यूनतम आवश्यकता प्रति चिन्तित भए जस्तो लाग्दैन ।

प्रजातन्त्र प्राप्तिका लागि योगदान दिएका महान् योद्वा र उनीहरुको सपनालाई साकार पार्ने संकल्पका साथ हरेक वर्ष विभिन्न राजनीतिक दल र सरकारले विभिन्न कार्यक्रम गरी २००७ फागुन ७ गतेको स्मरण गर्छन्, र प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, दुखको कुरा प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेका छैनन् । जसका कारण प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ । हिजोका दिनमा प्रजातन्त्रका निम्ति गरिएको संघर्ष र आजका दिनमा गणतन्त्रलाई लिएर भैरहेको व्यवहारले आगामी दिनहरु राजनीतिकरुपमा त्यति सहज देखिँदैनन् । देशको इतिहास यसरी नै भुल्दै जाने र केवल आफ्नै दलको इतिहासमा मात्र मग्न भैरहने कुसंस्कृतिमा लिप्त हाम्रा तथाकथित राजनीतिक नेतृत्वहरुको ढुलमुले चरित्रका कारण नै देशले निकास पाउन नसकेको हो भन्ने कुरामा शङ्का गरिरहन पर्दैन । यही स्थितिले निरन्तरता पाइरहने हो भने प्रजातान्त्रिक हकअधिकारका लागि पुनः संघर्ष गर्न नपर्ला भन्ने छैन । बृहत्तर दलीय सहमतिको आधारमा संविधान कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको बाटोमा लैजानु अहिलेको आवश्यकता हो । जसका  लागि दलहरूले इमानदार प्रयत्न गर्न आवश्यक छ । त्यसो भयो भने प्रजातान्त्रिक योद्धाहरूको सपना पूरा हुनुका साथै फागुन ७ अर्थात् प्रजातन्त्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update