Shittalpati
पाल्पा क्षेत्र नं.१ लाई देशकै नमुना बनाउँछु  : काँग्रेस उम्मेदवार राना

पाल्पा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पाबाट नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले पाल्पा क्षेत्र नं. १ लाई देशकै नमूना क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।  बुधबार माथागढी गाउँपालिकाका विभिन्न गाउँ टोलमा चुनावी प्रचार–प्रसारका क्रममा पुगेका रानाले पाल्पाको क्षेत्र नं. १ लाई आर्थिक समृद्धिको रुपमा विकास गरी देशकै नमूना बनाउने प्रतिवद्धता जनाएका हुन् ।

उनले गाउँ घरमा आएको परिवर्तनको लहरलाई परिणाममा बदल्ने समय आएको उल्लेख गरे ।  नेता रानाले भने– “ विगतका प्रतिनिधिहरूलाई म आरोप लगाउदिन । उहाँहरुले यस क्षेत्रका लागि जे जति गर्नुभयो आफ्नो क्षमता अनुसार गर्नुभयो । तर म देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये पाल्पा क्षेत्र नम्बर १ लाई उत्कृष्ट क्षेत्र बनाउन लागि पर्नेछु ।” यस पटकको निर्वाचन विगतको तुलनामा फरक किसिमको निर्वाचन रहेको उनले बताए । “ २००७ सालको क्रान्तिपछि २०१५ सालमा भएको निर्वाचन, २०४६ पछिको निर्वाचन १० वर्षे जनयुद्धपछि २०६४ सालमा भएको निर्वाचनमा जनतामा एक किसिमको कौतुहलता थियो, रानाले भने–“सुशासन र भ्रष्टाचारको अन्त्यका लागि जेनजी आन्दोलन पश्चात हुन लागेको यस निर्वाचनमा पनि जनता परिवर्तनको पक्षमा छन् ।”

मतदाताका गुनासाहरू सुन्दै रानाले रोजगारीका लागि अधिकांश युवाहरू वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै रोजगार र स्वरोजगारको लागि खाका तयार गरेको बताए । उनले भने “ पाल्पा क्षेत्र नम्बर १ का १० हजार भन्दा बढी युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । उहाँहरुलाई परिवारसँगै स्वदेशमा बसेर काम गर्ने वातावरण तयार पार्नका लागि सिङ्गो क्षेत्र नं.१ को लागि खाका तयार पारेका छौं ।” क्षेत्र नम्बर १ का बस्तीहरूलाई धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन र गौरव पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अवधारणा आफुले अघि सारेको जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, बाँझो जग्गाको सदुयोग गरि उत्पादन वृद्धि गरी बजारिकरण गर्ने, स्थानीय उत्पादनको प्रवध्र्दनका ’भोकल फर, लोकल’ को नारा, परम्परागत उद्योगको प्रवद्र्धनको लागि योजना बनाएको पनि उनले बताए  ।नेता चुनाव जितेपछि फर्किदैनन् भन्ने जनताको गुनासोमा रानाले नागरिक संसद संवाद केन्द्र स्थापनाको योजना रहेको बताउदै निरन्तर जनताको गुनासो सुनेर काम गर्ने बताए ।  चुनाव प्रचार प्रसारको क्रममा मतदाता माझ पुगेकाा रानाले माथागढी गाउँपालिका ६ को जगात, वडा नं. ५ को हातिलुङ, वडा नं. ४ को झडेवा र वडा नम्बर ७ को रहबास, मटेरीमा जनतासँग भेटघाट गरे ।
।समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले यो निर्वाचनमा कांग्रेसलाई जुन सुकै हालतमा विजयी गराउनु आवश्यक रहेको बताए । गगन थापाको नेतृत्वको संगठनले जनतामा उत्साह जगाएको उनको  भनाई छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update