पाल्पा,पाल्पामा काँग्रेस नेताहरुको फोटो दुरुपयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुले आफ्ना उम्मेदवारहरुलाई भोट माग्ने गरेको पाइएको छ । जसरी भए पनि आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा लागेका रास्वपा नेताहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै पाल्पा काँग्रेसका नेताहरुको फोटो दुरुपयोग गरी भोट माग्ने गरेको पाइएको हो ।
शिवरात्रिका दिन जिल्लाको बगनासकाली गाउँपालिकाको बराङ्दीमा रहेको सिद्धबाबा मन्दिरमा काँग्रेसका नेताहरु दर्शन गर्न गएको तस्वीरको दुरुपयोग गरी रास्वपाका नेता विष्णु पौडेलले घण्टी चिन्हमा मत मागेको दृश्य सामाजिक सञ्जालमा भाइल भएको छ । उनले काँग्रेस नेता वीरबहादुर राना, झपेन्द्र गहिरेलगायतका विशिष्ट नेताहरुको तस्वीर राखी रास्वपाको गीतमा भोट मागेको पाइएको हो । जिल्लामा काँग्रेसको पक्षमा जनमत बढ्दै गएपछि रास्वपाले काँग्रेस नेताहरु माथि निसाना बनाएको छ । उसले जनमत आफ्नो पक्षमा पार्न सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रमहरु फैलाउनेदेखि तस्वीरको दुरुपयोग गर्ने सम्मका कार्य गर्ने गरेको पाइन्छ ।
कुनैपनि व्यक्तिको फोटो वा भिडियो दुरूपयोग गर्नु आचारसंहिता विपरित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ऋषिराम सुवेदीले बताए । उनले शितलपार्टीलाई भने “ तस्वीरको दुरुपयोग गरी मत मागेको भन्ने जानकारी प्राप्त हुन साथ रास्वपाका जिल्ला सभापति विष्णु भण्डारीलाई सम्पर्क गरी तत्काल हटाउन निर्देशन दिएको र अहिले हटाइएको भन्ने जानकारी प्राप्त भएको छ ।” यति हटाउन अटेर गरे कारवाही हुने सुवेदीको भनाई छ । यता नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरेले आफुहरुको तस्वीर राखेर रास्वपाका नेताहरुले भोट मागेकोप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले आम जनता सचेत भएकाले भ्रममा नपार्न रास्वपाका नेताहरुलाई चेतावनी समेत दिएका छन् । आचारसंहिता अनुगमन अधिकृतको निर्देशनपछि अहिले भने त्यो तस्वीर सहितको भिडियो हटाइएको छ । देशभर नै रास्वपाले सामाजिक सञ्जालमा भ्रम छर्ने र आचारसंहिता उल्लङ्घन गर्दा समेत सरकार मौन बस्ने गरेको आम नागरिकको गुनासो छ ।


