Shittalpati
भ्रष्टाचार नियन्त्रणमा स्थिर

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ । गत वर्ष जस्तै अंक कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत सूचकांकले दिएको छ । राजनीतिक इच्छाशक्ति, कानुनको पूर्ण कार्यान्वयन, स्वतन्त्र न्यायपालिका र नागरिक सहभागिता सुदृढ हुन नसक्दा  भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन् । यो अत्यन्तै दुखको कुरा हो । 

भ्रष्टाचार पैसा कमाउने अचुक अस्त्र बनेको छ । बिना कुनै उद्योग, बिना कुनै गतिलो व्यापार व्यवसाय अनि बिना कुनै अन्तर्राष्ट्रिय संस्थाको आकर्षक जागिर ती भाग्यमानी महाशयको दिन दुई गुणा रात चौगुणा यसरी आर्थिक अवस्थामा एकाएक भएको छलाङ नै भ्रष्टाचार हो । यसैको परिणाम दक्षिण एसियामै सर्वाधिक भ्रष्टाचार हुने देशको सूचीमा नेपाललाई चिनिन्छ । यो निकै चिन्ताको विषय हो । यस पटक पनि ट्रान्परेन्सी इन्टरनेसनलले नेपालको भ्रष्टाचार नियन्त्रणमा सुधार हुन नसकेको देखाएको छ । विगत वर्षमा पनि नेपालको अवस्था यस्तै हुने गरेको थियो । यस वर्ष पनि सुधार हुनुको सट्टा अझै अवस्था बिग्रिएर गएको देखाइएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको अवधारणा सुन्नमा निकै राम्रो लागे पनि त्यसको प्रयोग भने व्यवहारतः हुन नसक्नुले नै भ्रष्टाचारजन्य रोगलाई स्वतः हाबी बनाइरहेको छ । नेपालमा राजनीति गर्नेहरू प्रायः कुनै न कुनै रूपमा भ्रष्टाचारमा संलग्न हुने गरेको पाइन्छ । सिधासाधा व्यक्ति अब नेपाली राजनीतिमा अयोग्य सावित हुन पुगेका छन् । यो पनि यो भ्रष्टाचारको प्रकाष्ठ नै हो । डन, पैसावाला र भ्रष्टाचार गर्नेहरुको नै यहाँ हालिमुुहाली हुन थालेको छ । भ्रष्टाचारलाई विकास र समृद्धिको बाधकका रुपमा लिइने गरिएको छ । ठूलो रकमको अपचलन हुने स्थिति निर्माण हुँदा त्यसले देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढ्न दिँदैन ।  सञ्चार माध्यमबाट पटक –पटक भ्रष्टाचारको अन्त्यका लागि खबरदारी नगरिएको होइन, तर राजनीतिक दलहरु सच्चिन सकेनन् । जसका कारण भ्रष्टाचार झन् झन् मौलाउँदै गएको छ । अब पनि भ्रष्टाचारको अन्त्य गर्न सकिएन भने न त देशको विकास हुन्छ न त समृद्धि नै ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update