Shittalpati
विज्ञानमा महिलाको पहुँच

विश्वका विकसित मुलुकहरूमा विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति कम छ । पछिल्लो समय नेपालमा समेत महिलाहरू विज्ञान, प्रविधि क्षेत्रमा अग्रसर भएको देखिए पनि उद्योग तथा प्रविधिको नेतृत्व तहमा पछि नै छन् । व्यवस्थापनमा महिलाहरू अगाडि भए पनि विज्ञानका पक्षमा पर्याप्त अग्रता लिन सकेका छैनन् । समाजमा अझै पनि महिलाले विज्ञान प्रविधिसँग सम्बन्धित तथा प्राविधिक काम गर्न सक्दैनन् भन्ने मान्यता व्याप्त छ । सरकारको योजनाबद्ध कार्यक्रम तथा डिजिटल साक्षरताको कमीले अझै पनि यो क्षेत्रमा महिलाहरू पछाडी नै छन् । दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच कम रहेकाले त्यहाँका महिलाको अवस्था झनै दयनीय छ ।

आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवर्तनमा महिलाहरूको योगदानको कदर गर्ने र उनीहरुलाई विज्ञानको पहुँचमा पुर्‍याउन हरेक वर्ष फेब्रुअरी ११ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदे छ । दिवसले अनुसन्धान, विज्ञान तथा नूतन प्रविधिमा महिलाहरूको सहभागिता र पहुँचबिना समाज तथा राष्ट्रको सर्वांगीण विकास हुन सक्दैन भन्ने यथार्थबोध गरेको देखिन्छ । तर सूचना–प्रविधि तथा उन्नयनको वर्तमान युगमा प्रविधिको प्रयोग र पहुँचमा रहेको लैंगिक असमानता साँच्चिकै भयंकर रहेको देखाउँछन् । अहिलेको अवस्थामा महिलाको सहभागिता संख्या ३० प्रतिशतभन्दा कम छ । यो आँकडाले नै महिला पछाडी परेको पुष्टि हुन्छ । प्रत्येक अभिभावकले लिंगका आधारमा छोराछोरीलाई भेदभाव गर्नु हुन्न । उनीहरूको इच्छा अनुसार शिक्षामा लगानी गर्नु अहिलेको आवश्यकता हो । यदि महिलालाई घर–परिवारले नै सहयोग गरेर शिक्षामा अगाडि ल्याउन सकियो भने विज्ञान–प्रविधिको क्षेत्रमा पनि उनीहरूको उपस्थिति बढ्छ । महिलाहरूले पनि विज्ञान र प्रविधिका क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नका लागि अठोट गर्न जरुरी छ । महिलाले पनि विज्ञान र प्रविधिमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले पनि यी क्षेत्रमा उनीहरूको सहभागितालाई बलियो बनाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न आवश्यक छ । महिलाको समान पहुँचलाई सुनिश्चित गर्न तथा अवसरका ढोका खोलिदिन  सकियो भने मात्र विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update