हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । विश्वभर नै इन्टरनेट चलाउनेको संख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो । यस दिन विश्वका धेरै देशले इन्टरनेट प्रयोग गर्दा भएका कठिनाइ, समस्या र असुरक्षाका विषयमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्छन् । इन्टरनेट सुरक्षासँग सम्बन्धित रहेर मानिसलाई सचेत बनाउने विभिन्न किसिमका सामग्री पनि प्रस्तुत गर्छन् । विश्वले सूचना तथा प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साघुरो घेरामा सिमित बन्न पुगेको छ । नेपालले पनि सूचना प्रविधिलाई पछ्याउँदै अगाडि बढेको अवस्था छ । इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो । तर अनलाइनको प्रयोगबाट केही नकरात्मक काम पनि नभएका भने होइन । अनलाइनकै माध्यमबाट धेरै अपराधिक क्रियाकलापहरु भएका छन् । यस्तो हुनु दुःखद् हो । सूचना प्रविधिमार्फत नै नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरू भेट्ने, पुग्न नसकेका ठाउँहरूको बारेमा थाहा पाउने लगायतका अवसरहरू प्राप्त गरिएको छ । तर, उचित सूचना वा मार्गदर्शन नहुँदा इन्टरनेट जगतमा दुव्र्यवहार, शोषण तथा हिंसा जस्ता विभिन्न जोखिमहरूको पनि सामना गर्नु परेको यार्थता छ । इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भनेर बुझ्न आवश्यक छ ।
डिजिटल प्रविधिको असुरक्षित प्रयोगले मानिसलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरू कम गर्न यो मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी नेपालमा यो दिवस मनाउन लागिएको छ । युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोम नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १ सय ७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवद्र्धन गर्ने जिम्मेवारी पाएको थियो । तर यो दिवस औपाचारिकतामा मात्र सिमित हुन पुग्दा यसले सार्थक रुप लिन सकिरहेको छैनन् । अब प्रविधिको सकारात्मक प्रयोग सम्बन्धी जानकारी प्रकाशमा ल्याउन सके मात्र सुरक्षित इन्टरनेट दिवस मनाउनुको सार्थकता रहन्छ ।

