छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन सक्ने त्रास बढेको छ । यद्यपी अहिलेसम्म यो भाइरस नेपालमा भित्रिएको पुष्टि नभए पनि जोखिम भने कायमै छ । विशेष गरी निपाह भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । तर, संक्रमण मुख्य रूपमा चमेरो वा सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्छ । पेट्रोपोडाइ परिवारका यी चमेराहरू फलफूल मन पराउने खालका हुने गर्छन् । खासगरी, यो जातका चमेराहरू फलफूलको रूखमा बस्ने हुँदा फलफूलका माध्यमबाट मानिसमा सर्ने अध्ययनले देखाएको छ । घोडा, बिरालो र कुकुरसहित घरपालुवा जनावरहरूका माध्यमबाट पनि संक्रमण फैलिन सक्छ । तर, यो भाइरस सुँगुरहरूको बीचमा धेरै संक्रामक मानिन्छ, जसले भाइरसलाई मानिसमा सर्न सक्छ ।
खुला सीमानाकाबाट आउजाउ गर्ने मानिस, फलफूल खाने चमेरो र सुँगुरलगायत घरपालुवा जनावर नेपालमा पनि पाइने हुँदा उच्च जोखिम रहेको छ । अझ भारत र नेपालको जस्तो खुला सिमाना भएको अवस्थामा यस्तो संक्रमण एक देशबाट अर्को देशमा सर्न समय लाग्दैन । यही कारण निपाह भाइरसको सम्भावित जोखिमप्रति नेपाल समयमै सचेत हुनुपर्ने अवस्था आएको छ । नेपाल–भारत खुला सीमाका कारण दैनिक हजारौं मानिस आवतजावत गर्छन् । रोजगारी, व्यापार, शिक्षा, उपचार र पारिवारिक कारणले हुने यो आवागमन आफैंमा अस्वाभाविक होइन, तर महामारी फैलिने सन्दर्भमा भने यही खुलापन जोखिमको प्रमुख कारण बन्नसक्छ । निपाह नयाँ भाइरस होइन । सन् १९९० को दशकमा मलेसियाबाट पहिलो पटक देखिएको यो भाइरसपछि बंगलादेश र भारतमा पनि फैलिएको छ । विशेषतः भारतको पश्चिम बंगाल, केरललगायत क्षेत्रमा यसले बेलाबेलामा ज्यान लिने गरेको छ । यसका लक्षणहरू सामान्य रूघाखोकी र ज्वरोदेखि लिएर टाउको दुख्ने, रिँगटा लाग्ने, भ्रमित हुने, स्नायु प्रणालीमा असर पर्ने जस्ता गम्भीर अवस्थासम्म देखिन सक्छन् । समयमै उपचार नभए मृत्युको जोखिम अत्यन्तै उच्च रहने चिकित्सकहरूको चेतावनी छ । यसर्थ संक्रमण फैलिन नदिन सरकार र स्वयंम व्यक्ति आफैले बेलैमा उच्च सर्तकता अपनाउन जरुरी छ ।

