Shittalpati
क्यान्सरबाट बच्न आफै सचेत बनौं

शरीरको जुनसुकै भागमा कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुनु क्यान्सर हो । यस खालका कोषले शरीरलाई प्रतिकूल असर पार्छ । क्यान्सरले आफू नजिकका तन्तुलाई असर पार्छ । शरीरको अन्य अंगमा पनि असर गर्छ । समयमै निदान गरी उपचार गरे यो रोग निको हुन्छ । तर नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएका छन् । जसले गर्दा क्यान्सरको जोखिम पनि उत्तिकै बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो ।

क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ । क्यान्सरको उपचार र स्याहार पाउनका लागि सबैको पहुँच पुगेको छैन । यो रोग मानिसका लागि एउटा दुर्भाग्य साबित भएको छ । खर्च, पीडा र यससँगको चिन्ताले सबैलाई ठूलो असर पारिरहेको छ । समयमै यसबारे पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गरी मृत्युवरणमा न्यूनीकरण गर्न सकिन्छ । रोग पहिचान भए पनि अधिकांस मानिसहरू स्वास्थ्य उपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छन् । बिरामी भएर मात्र उपचारका लागि जाने बानीलाई त्याग गर्दै समयमा नै उपचार गर्न जरुरी छ । क्यान्सर रोग सचेतनाका लागि हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।  यस वर्षको दिवस आज मनाइँदै छ । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालीयो भने रोकथाम गर्न सकिन्छ भन्ने सचेत पार्न विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष दिवस मनाउँदै आइएको हो ।  हरेक वर्ष दिवस मनाउने गरिए पनि क्यान्सरका विरामी बढ्दै जानुु दुखको कुरा हो । समयमै यसबारे पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गरी मृत्युवरणमा न्यूनीकरण गर्न सकिन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । तसर्थ क्यान्सरजस्तो घातक रोग लाग्नै नदिन सरकार र स्वयमं नागरिक सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update