सिमसार पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ । यो प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्र हो । तर अहिले यो क्षेत्र संकटमा पर्न थालेको छ । सिमसार क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २ का दिन विश्व सिमसार दिवस मनाइने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७१ मा इरानको रामसर सहरमा हस्ताक्षर भएको रामसर सम्झौता को स्मरणस्वरूप यो दिवस मनाउने गरिन्छ । सिमसार क्षेत्र जैविक विविधता संरक्षण, पानी सन्तुलन र मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण छन् ।
सिमसारका दुई मुख्य विशेषता पानी र जमिनसँगै हुनु हो । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्दछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ । यो संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै गराउँछ । सिमसारमा आश्रित समुदायको गरिबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । जलवायु, भौगोलिक स्वरुप, भूगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरुले गर्दा सिमसारहरुमा लाखौं रैथाने तथा घुमन्ते (आगन्तुक) चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोटविरुवाको विविधता पाइन्छ । सिमसार क्षेत्रहरुमा सबैभन्दा बढी जल सोचन हुने भएकाले बाढी लगायतका प्रकोप न्यूनीकरणमा समेत उल्लेख्य भूमिका निर्वाह गरिरहेका हुन्छन् । तर पछिल्ला वर्षहरूमा अव्यवस्थित शहरीकरण, अतिक्रमण, प्रदूषण, जलवायु परिवर्तन र कमजोर कार्यान्वयनका कारण नेपालका धेरै सिमसार क्षेत्र संकटमा परिरहेका छन् । यो अत्यन्त दुखद् हो । विश्व सिमसार दिवस नेपालका लागि केवल औपचारिक कार्यक्रम गर्ने अवसर मात्र होइन, आत्मसमीक्षा गर्ने दिन पनि हो । नीति, योजना र कानुन त बनेका छन्, तर स्थानीय तहसम्म प्रभावकारी कार्यान्वयन कमजोर देखिन्छ । समुदायको सहभागिता बिना सिमसार संरक्षण सम्भव छैन । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ । सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र संवद्र्धनमा यथोचित ध्यान दिनुपर्छ । सिमसार संरक्षण र यसको दिगो उपयोगमा रैथाने समुदाय, सरोकारवाला निकाय,संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्य गरी पूर्णरुपमा सिमसारमा आश्रित समुदायलाई वैकल्पिक आयआर्जनतर्फ पनि उन्मूख गराउनुपर्छ । यसो गर्न सकियो भने मात्र यो दिवसको सान्दर्भिकता देखिन्छ ।

