Shittalpati
नर्सको पीडामा गम्भीर बनौं

मानव स्वास्थ्यमा नर्सको भूमिका अतुलनीय छ । उनीहरु अस्पतालमा पुगेका बिरामीका लागि आशा र भरोसाका केन्द्र समेत हुन् । औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् । तर तिनै नर्सहरू अन्योलग्रस्त भविष्यप्रति दिक्क देखिन्छन् । न्यून तलब र तनावका बिच उनीहरु काम गर्न बाध्य छन् । नर्सिङको इतिहास नेपालमा खासै पुरानो नभए पनि अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्व अनि विकास धेरै भइरहेको छ । तर पनि नर्सिङ पेसा अझै व्यवस्थित हुन सकेको छैन । नर्सलाई न्यूनतम पारिश्रमिक पाउन आन्दोलनमै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्स पेसाप्रति सन्तुष्ट हुन नसकेपछि अहिले विदेशिन बाध्य छन् । यो नेपालको स्वास्थ्य क्षेत्रका लागि दुखको कुरा हो । 

कोरोना महामारीका बेला नर्सले आफ्नो सुरक्षाको परवाह नगरी सेवा प्रदान गरेको कसैले बिर्सन सक्दैन । जसका कारण नर्सहरूको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । कोभिड–१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारणले पनि नर्सिङ दिवसको महत्व अझै बढेको छ । त्यस्तो कठिन समयमा पनि आफ्नो स्वास्थ्य, घर परिवारको चिन्ता नगरी आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीको सेवा गर्नमा तत्पर थिए र अहिले पनि छन् । तर नेपालमा नर्सको श्रम शोषण, योग्यताअनुसार रोजगारी नपाउनु, विशेषज्ञताअनुसार पदपूर्ति हुन नसक्नु लगायतका समस्याका कारण थुप्रै नर्सहरू ठूलो पीडा छन् । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन । त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेका नर्सले निजी अस्पतालमा अहिले पनि मासिक १०/१२ हजारमा मात्रै काम गर्न बाध्य छन् । यसो हुनु विडम्वना हो । नर्सविनाको स्वास्थ्य उपचार र अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौँ । यसर्थ गुणस्तरीय स्वास्थ्य सेवा दिन नर्सको महत्वपूर्ण योगदान हुन्छ त्यसैले उनीहरुको पीडा सम्बोधन गर्न सबै गम्भीर बनौं ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update