प्रतिनिधिसभाको निर्वाचन हुन अब ४२ दिन बाँकी छ । लामो समयदेखि निर्वाचनको अन्योल कायमै छ भन्ने चर्चा चलिरहे पनि मंगलबार देशभर उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएसँगै अब निर्वाचनको माहोल स्पष्ट रूपमा बनेको छ । अब निर्वाचन हुँदैन भन्ने तर्कको कुनै तुक छैन् ।
चुनावका बारेमा आशंका भइरहेका बेला मनोनयनमा देखिएको उत्साहले चुनावको वातावरण बनाउन विश्वासिलो आधार तयार गरेको छ । राजनैतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समर्थकसहित उत्साहजनक रुपमा मनोनयन दर्ता गरेका छन् । यस पटक देखिएको मनोनयन प्रक्रियाबाट निर्वाचन निकै रोमाञ्चक र उत्साहजनक हुने संकेत मिलेका छन् । विगत निर्वाचनमा सरिक नभएका नयाँ अनुहार पनि यस पटक देखिएका छन् । अझ रोचक पक्ष, सूचना प्रविधिको उच्चतालाई यस पटकको निर्वाचनमा गरिने प्रयोग महसुस गर्न पाइनेछ । सूचना प्रविधिको प्रयोग मात्र होइन, दुरुपयोगको पनि उत्तिकै खतरा छ । यसबाट निर्वाचनलाई कसरी जोगाउने र मतदाताले सही निर्णय गर्न सक्ने अवस्था कसरी ल्याउन सकिन्छ भन्ने चिन्ता अहिले सर्वत्र छ । गलत सूचनाकै आधारमा बेठिक मानिसलाई प्रतिनिधि बनाएर पठाउने अवस्था आउँदा मुलुकले त्यसको मूल्य भविष्यमा चुकाउनुपर्ने हुन्छ । पाँच वर्ष कार्यकाल भएको प्रतिनिधिसभा विघटन भएपछि तीन वर्षमै चुनाव हुन लागेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंशपछि प्रतिनिधिसभा विघटन भएपछि अहिले चुनावको बाध्यता आइलागेको हो । यो चुनाव यस अर्थमा महत्वपूर्ण छ कि अहिले संविधानले बाटो बिराएको छ, बाटो बिराएको संविधानलाई लयमा ल्याउन चुनाव नै अनिवार्य छ । संवैधानिक प्रबन्धअनुसार चुनावबाट आउने नेतृत्वले मुलुक सम्हाल्दा मात्रै मुलुकले लय समात्न सक्छ । तसर्थ घोषित मितिमा चुनाव नहुने र अन्तरिम सरकार लामो समयसम्म अघि जाँदा मुलुकमा अराजकता बढ्दा मुलुक थप कमजोर बन्ने भएकाले चुनाव तोकिएको मितिमा सम्पन्न गर्नु अहिलेको उत्तम विकल्प हो ।

