माघ महिनाको पहिलो दिन आज ‘घिउचाकु सँल्हु’, माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक मुख्य पर्व हो । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने चलन छ ।
आजको दिन विशेष रुपमा घिउ, चाकु र तीलको लड्डुखाएर मनाइने यो चाड अब सबै नेपालीको साझा बन्न थालेको छ । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघे संक्रान्ति । हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् । सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । माघे र मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।
माघ संक्रान्ति मध्ये जाडोको रमाइलो पर्व पनि हो । यस दिन तेल लगाउने प्रचलन पनि छ । यो पर्व धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण रहेको छ । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । यसर्थ यो पर्व धार्मिक दृष्टिले मात्र नभई सांस्कृतिक,सामाजिक र वैज्ञानिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको छ ।


