Shittalpati
हर्षोल्लासका साथ माघे संक्रान्ति पर्व मनाइँदै

पाल्पा, माघ महिनाको पहिलो दिन आज देशभर हर्षोल्लासका साथ माघे संक्रान्ति पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना गरी मनाइँदै छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायत परिकार खाने चलन छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् भने पाल्पामा बसोबास गर्दै आएका मगर समुदायले पनि आफ्नो महान चाड माघे संक्रान्ति धुमधामका साथ मनाउँदै छन् । आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । उनीहरूको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । मगरहरू प्रकृतिपूजक हुन् । माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ । वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय पर्छ, माघे संक्रान्तिको बेला । माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा छ ।

मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वका रूपमा मानेका छन् । विशेषगरी गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरूले यसरी मनाएको पाइन्छ । माघे संक्रान्ति आउनुभन्दा अघि नै मगरहरूले घर—घरमा जाँड राख्ने गर्छन् । संक्रान्तिको केही दिनअघि मगर महिलाहरू नजिकको पँधेरो, खोलामा गएर रक्सी पार्ने गर्छन् भने पुरुषहरू वनमा गएर वनतरुल, बारीको सखरखण्ड, घरतरुल खन्ने गर्छन् । पुस मसान्तको बेलुकी घर—घरमा सेलरोटी, बारा बनाएर भोलिपल्टको परिकारहरूको लागि तयारी गरिन्छ ।  सखरखण्ड, तरुल पनि पुसमा पकाएर माघमा खाने भनी बेलुकी नै उसिनिन्छ । भोलिपल्ट अर्थात् माघ १ गते सबै चोखोनितो हुने भनी घर लिपपोत गरिन्छ । सबेरै पुरुष, महिला नजिकको खोला, पँधेरोमा गएर स्नान गर्ने गर्छन् । त्यसमाथि पनि पवित्रधाम गुल्मीको रिडी, पाल्पाको राम्दी, त्रिवेणी, कास्कीको सेती लगायत नदी किनारमा गएर नुहाइ पवित्र बनेर मरेका पुर्खालाई डि डाँके (मुठी दान) गर्ने गर्छन् । नदीमा नुहाएपछि खोला किनारमा केराको पातमा एकमाना चामलमा एकमाना मासको दाल भिजाएर मुछी नौवटा डल्ला बनाएर पुर्खाको प्रतीक बनाइन्छ । त्यसपछि त्यस डल्लालाई पितृ सम्झी अदुवा, बेसार र मर्चा (रक्सी बनाउने मूल औषधी) राखेर आफ्ना दिवंगत पुर्खाको मुहार सम्झेर घ्युको धुप हालेर पूजा गरिन्छ । यसरी हेर्दा माघे संक्रान्ति मगर समुदायको पितृपूजा गर्ने पवित्र दिन पनि हो । माघे संक्रान्तिको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update