Shittalpati
ऋणको सदुपयोग आवश्यक

नेपालको सार्वजनिक ऋण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४५ दशमलव ६६ प्रतिशत पुगिसकेको छ । सार्वजनिक ऋण र जिडिपीको यो अनुपात त्यति धेरै नभए पनि यस्तो ऋणको उपयोग र नेपालको राजस्व तथा स्रोत परिचालनको उपादेयतामा भर पर्दछ । पछिल्ला वर्षहरूमा बाह्य सहुलियतपूर्ण ऋणको प्रतिबद्धता कम आउने र आएको प्रतिबद्धता पनि पूरा नहुने भएपछि आन्तरिक ऋणमा निर्भरता बढ्दै गएको छ । सरकारले उठाएको राजस्वबाट साधारण खर्च पनि नधानिने अवस्थाका कारण सामाजिक विकास र पूर्वाधार निर्माणमा ऋणको भार स्वाभाविक रूपमा बढेर गएको छ । वार्षिक बजेटमा राजस्वको अनुमानभन्दा साधारण खर्चको आकार बढी देखिन्छ । सरकारले अनुमान गरे अनुसारको राजस्व नउठेको अवस्थामा सरकारी आयले साधारण खर्च धान्न पनि नपुग्ने भएको छ ।

नेपालको सार्वजनिक ऋणको आकार जसरी बढ्दै गएको छ, त्यसअनुसार मुलुकको आर्थिक उन्नति हुन सकेको छैन । विश्वका अन्य मुलुकले उठाएको सार्वजनिक ऋणको तुलनामा नेपालले लिएको ऋणको आकार निकै कम हो । अमेरिका, जापान, चीनजस्ता ठूला अर्थतन्त्र भएका मुलुकहरूले जिडिपीभन्दा बढी सार्वजनिक ऋण लिएका छन् । त्यस हिसाबले जिडिपीको ४५ प्रतिशत हाराहारी ऋण लिइनुलाई खराब मान्न सकिँदैन । तर मुख्य प्रश्न लिएको ऋणको सदुपयोग भएको छ/छैन, त्यो  महत्वपूर्ण हो । सार्वजनिक ऋण लिएर के–कस्ता क्षेत्रमा प्रयोग गरिएको छ ? मुलुकभित्र उत्पादन र रोजगारी सिर्जना गरी अर्थतन्त्र उकास्न ऋणको प्रयोग भएको छ कि सत्तामा पुगेकाहरूको व्यक्तिगत र दलगत स्वार्थमा प्रयोग भएको छ ? अहिलेको अहम् प्रश्न हो यो । अहिलेसम्म सार्वजनिक ऋणको जति सदुपयोग हुनुपर्ने थियो, त्यो नभएको भन्दै आलोचना हुँदै आएको छ । देशभर भ्युटावर बनाउन होस् वा तत्काललाई अनावश्यक विमानस्थलहरू बनाउन होस्, ऋणको प्रयोग भइरहेको सबैले देखेकै विषय हो ।

ऋणको सदुपयोग, पारदर्शिता र सही क्षेत्रहरूमा लगानी गर्न सकेमा यसले आर्थिक विकासमा सकारात्मक योगदान दिन सक्छ । तर, यसको दुरुपयोगले देशलाई ऋणको दुश्चक्रमा फस्न बाध्य बनाउन सक्छ, जसले दीर्घकालमा आर्थिक अस्थिरता निम्त्याउँछ । तसर्थ, राजस्वले चालू खर्च धान्न नसकिरहेको नेपालको वर्तमान अवस्थामा ऋणको दुरुपयोग बढ्दै जानु भनेको चिन्ताको विषय पक्कै हो । ऋण तिर्न ऋण लिनुपर्ने अवस्थाको सिर्जना हुनु पक्कै पनि राम्रो संकेत होइन । तसर्थ लिएको ऋण सदुपयोग गर्ने विषयमा ध्यान दिन जरुरी छ ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update