अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ । शाहको जन्मदिनले प्रत्येक वर्ष विशेष महत्व पाउँदै आएको छ । राणा शासनदेखि पञ्चायती व्यवस्था र अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली सञ्चालन हुँदा राष्ट्रिय एकता दिवसको अपरिहार्यता शासकवर्ग र देशवासी सबैले महसुस गरेका छन् । उनले यत्रतत्र छरिएर रहेका राज्यलाई मिलाएर बृहत् नेपाल खडा गरेका थिए । यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्याएको योगदानको स्मरण गर्ने गर्दछन् । आजको दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको विगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिइने गरिन्छ ।
पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । तर पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँरहदा पछिल्लो समय विभिन्न टीका–टिप्पणी हुने गरेका छन् । कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता र राष्ट्रनिर्माता हुन् । यसमा दुई मत छैन् । एकताको उपहास हुनु द्खद् हो । आज देशभित्रै राजनीतिक दलहरु सत्ताको लडाईमा लागेका छन् । जसका कारण नेपालको राष्ट्रियता धमिलिएको छ भने राष्ट्रको अस्तित्व नै खतरामा परेको छ । यस्तो अवस्थामा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बढ्दो छ । स्वभावतः यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता महसुस गरिनु स्वाभाविक हुन आउँछ । राष्ट्र एक रहोस् भनी कामना गर्नु र त्यसका लागि सतत् प्रयत्न गर्नु हरेक राष्ट्रभक्त नागरिकको कर्तव्य पनि हो । तर त्यसो हुन सकिरहेको छैन् ।
नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायणको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । हिजो पृथ्वी नारायण शाहाले एकीकरण गरेका नेपाली भूमिहरु छिमेकी देशहरुले अतिक्रमण गर्दा समेत नेपालका राजनितिक दलहरु मौन हुनु दुखद् हो । दिवसलाई औपचारिकता दिनका लागि मात्र दिवस मनाइनु हुँदैन । देशभक्ति पृथ्वी नारायण शाहाको योगदानलाई शिरोधार्य गर्न सकिएन भने दिवस मनाउनुको कुनै अर्थ रहदैन । यसर्थ अहिलेको अवस्थामा पृथ्वी नारायण शाहले दिएको योगदान र सन्देशलाई अनुसरण गर्नु अहिलेको आवश्यकता रहेको छ । यसतर्फ सबै राजनीतिक दलहरुले सोच्न जरुरी छ ।

