Shittalpati
तानसेन पहिरो अपडेट : थप एकको सनाखत, मृतकको संख्या चार पुग्यो

रामचन्द्र रायमाझी

तानसेन । जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा पुरिएका थप एक जनाको सनाखत भएकोे छ । मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छाउने क्रममा थप एक जना पुरुषको शव निकालेका हुन् । उनी झापा शिवसतासी नगरपालिका ८ झिलेझिले बुद्धचोक बस्ने १८ वर्षका कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो सँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा पहिरोमा पुरिएर सोमबार ३ जनाको मृत्यु भएको थियो ।

दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य मृत्यु हनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोज गिरीले बताए ।

थप सवारी साधन र मानविय क्षति भएको हुन सक्ने भन्दै विहानै देखी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरोस्थलमा परिचालन भएका थिए । तानसेनबाट रिडी तम्घासतर्फ जादै गरेका सवारी साधनहरु जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । उक्त पहिरो डेढ सय मिटर लामो छ । पहिरोमा परी एउटा गाडी क्षतविक्षत अवस्थामा छ, भने अर्को गाडी भीरमा अड्किएको अवस्थामा रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update