मदन देउराली
अस्ती भर्खर यही पौष १३ गते पाल्पा काठमाडौं सुविधाजनक पाल्पा दर्शन नामको रात्री बस सञ्चालनमा आएको छ । यसै अवसरमा बसका मालिक प्रकाश गोंगलजीले आफनो फेस बुकमा राख्नु भएको थियो ‘हाम्रो तानसेन यसैले होला “तानसेन घमाइलो” गीत रचनाकारज्यूले रचेको होला ? तराईमा शितलहर तानसेनलाइ प्रकृतिको उपहार आउने होइन तानसेन ? भनेर । कस्तो ठयाक्कै मिलेको छ । आजकाल तराईमा शीत लहर चलिरहेको छ तर हामी तानसेन बस्नेहरु दिनभरि मजाले घाम तापिरहेका छौं । त्यसैले तानसेन घमाइलो गाउने गायकले शायद यही देखेर यो गीत गाएका हुन की । “घाँसै काटी दुई खोली दोभान, हाँसी खेली विताउला जोवन, तानसेन घमाइलो जता निरमाया उतै रमाइलो ” कुनै समयमा यो गीत जन जनको जिब्रोमा थियो, खुब लोकप्रिय भएको थियो । यो गीतका गाएक तथा रचनाकार थिए कास्कीमा जन्मेका झलकमान गन्धर्व । यो गीत यति लोकप्रिय भयो कि जताततै यो गीत गुञ्जिन थाल्यो ।
नेपाल आइडल, रोधीघर, नेपाल व्लुज, अमीत बराल, बाल कुमार श्रेष्ठ र रेजिना परियार, रमन नेपाल, अर्जुन बीसी, देवेन्द्र श्रेष्ठ, अर्कौ एन फन्डस, सुजन चापागाई, आशिस महर, प्रमिल परियार आदि–आदिले गाए । कसैले मौलिक गाए कसैले रिमिक्स गरी गाए तर जसरी गाए पनि यो गीतलाई सुपर हिटको लिष्टमा पार्न सफल गरि दिए । तर कसरी यो गीत यसरी हिट भयो होला त ? हुनत तानसेनको सौन्दर्यताको बयान गर्नेहरुमा झलकमान मात्र थिएनन् उनी भन्दा अगाडि अन्य गायकहरु पनि थिए मास्टर मित्रसेनले “तानसेन रमाइलो डाँडा बाबुसाहेव, तानसेन रमाइलो डाँडा उकाली ओराली लड्दै र पढ्दै बुटौली सातकोस टाढा ” गाए त्यस्तै गरी इन्द्रलाल श्रेष्ठले गाए “मनोहर डाँडा श्रीनगर डाँडा हामीलाई प्यारो लाग्ने तानसेन सहर” पछि देउराली परिवारले गाए “चरि गाउँछे मादलको तालैमा, घन्क्यो मादल शितलपाटीमा, माया लाउने श्रीनगर डाँडैमा” । त्यति मात्र हैन विदेशी पर्यटक किथ डि फलोले झिगटीले छाएका कलात्मक घरहरु, च्याप्टा ढुंगा छापएिका बाटाहरु, रमाइलो मौसम, मिजासिला मानिसहरु साना(साना चिया पसलमा चीया खानेहरुको भीड, माडिफाटबाट विहानीको घामसँगै फुंग उड्दै गरेका हुस्सु अनि त्यसभित्र विलाउँदै गएको तानसेन सहर आदिले मोहित भएर त्बलकभल अष्तथ ष्ल तजभ mष्कत अर्थात् हुस्सु भित्रको तानसेन सहर भनेर पनि तानसेनको प्रशंसा गरे । गायकहरु मात्र नभै थुप्रै लेखकहरुले पनि तानसेनको बखान गरेको पाइन्छ । आखिर के थियो त तानसेनमा यसरी गीत बनाएर गाउनु पर्ने, पर्यटक तथा लेखकहरुले प्रसंशा गर्नु पर्ने ? के थियो त तानसेनमा त्यस्तो वातावरण त्यसबेला ? : हो तानसेन त्यसबेला ऐतिहासिक थियो, सांस्कृतिकमय थियो आफनै मौलिकता थियो आफनै विशेषता थियो । टुँडिखेलदेखि कैलाशनगरसम्म झिंगटिले छाएका आकर्षक साना–साना कलात्मक झ्याल ढोकाहरु घरहरु भएको एकलेनको बाटो दायाँबायाँ टक्सार, मेहलधारा, लहरेपिपल, वडिज्ञानटोल, शिलखान । च्याप्टा च्याप्टा ढुंगा छापिएका उकाली ओरालो बाटाहरु । सानो तर आकर्षक बस्ती, स्वस्थ्यकर हावापानी, हिउँदको पारिलो घाम, सफा र सुन्दर बजार, वर्षको प्रारम्भ देखि वर्षको अन्तिम दिन सम्म मनाइने भव्य जात्रा, चाडपर्वहरु, प्रत्येक टोलटोलमा साँझपख गुञ्जिने शास्त्रीय संगीत तथा भक्ति भजनका लहरहरु जस्ले तानसेनको ऐतिहासिकता तथा सास्कृतिकता झल्काउँथ्यो । बजारमा काठमाडौं उपत्यकाबाट आएका, ल्याइएका नेवारहरु जो विभिन्न समयमा विभिन्न प्रयोजनका लागि तानसेन आएका थिए । विभिन्न समयमा पाल्पाका लागि आएका तैनाथवालाहरुले आ–आफनो पालामा विभिन्न संरचनाहरु निर्माण गर्न ल्याइएका कालिगडहरु, व्यापारीहरु जस्ले तानसेनमा आए पछि स्थायीरुपमा यहीं बसोबास गर्न थाले पछि आफुहरुले काठमाडौं उपत्यकामा मनाउने गरेका संस्कृति जात्रा चाडपर्वहरु तानसेनमा पनि स्थापित गराएका थिए जस्ले गर्दा तानसेन संस्कतिमय भएको थियो । नेवारहरु धेरैजसो व्यापार व्यवसाय गर्दथे । पश्चिमी तथा पूर्वि जिल्लाहरुको व्यापारिक केन्द्र थियो पाल्पा त्यसबेला । बाहिरबाट जिल्लाहरुबाट आएका ढाकेहरु, प्यूठानीहरु, भोटेहरुले भरिभराउ हुन्थ्यो, गुलजार हुन्थ्यो बजार । उनीहरुले आफ्नो घरमा उत्पादन भएका घीउ, अदुवा, जडिबुटि लिएर आउँथे भने यहाँबाट आफुहरुलाई चाहिने लत्ता कपडा, नून तेल, सूर्ति तमाखु आदि लिएर जान्थे । बजारमा कतै ठूला–ठूला कराहीमा घीउ खारिरहेको देखिन्यो र टोल भरि घीउको गन्ध हुन्थ्यो त कतै लामा–लामा सूर्तिका पात काट्दै खुँदोमा पकाउदै गरेको तमाखुको गन्धले भरिएको हुन्थ्यो । त्यसबेला सिद्धार्थ राजमार्ग बनेको थिएन त्यसैले पनि तानसेन व्यापारिक केन्द्र थियो । पाल्पामा नेपालमा विलय भएपछि आएका तैनाथवालहरुमा जनरल अमरसिंह थापाले कलात्मक अमर नारायण मन्दिर, अमरेश्वर महादेव मन्दिर, अमर विनायक गणेश मन्दिर, तहविल गणेश मन्दिर, देवनधारा, पोखरी, ठूला–ठूला च्याप्टा ढुंगाहरुले घेरिएको फूलबारी, तीनधारा आदि बनाउन लगाएका थिए भने जनरल उजिरसिंह थापाले श्री रणउजिरेश्वरी भगवती मन्दिर, जनरल खड्ग शमसेरले पुरानो दरबार, मुगल शैलिको विशाल मूलढोका, शितलपाटी, बद्रीनरसिंह राणाले बदे्र्रश्वर महादेव मन्दिर, तिनधारा नजिक पोखरीधारा, जनरल प्रताप शमसेरले काठमाडौंको सिंहदरवार जस्तो व्रिटिस शैलिको हालको दरबार, खानेपानीको सुविधा, वीरशमसेरले लहरै पिपलका रुखहरु रोप्न लगाएका थिए । तानसेन कलात्मक शहर थियो त्यसबेला । यहाँका बासिन्दाहरु हिउँद लागे पछि तराइ झर्थे भने गर्मीको बेला पारिलो घामको लागि पहाड जाने भनेर पाल्पा आउँथे किनकी त्यसबेलाको हवापानी त्यस्तै हुन्थ्यो । बारै महिना सिरक ओढेर सुत्नु पर्ने मौसम हुन्थ्यो । चाडपर्वहरुमा मन्दिरहरुमा भक्तजनहरुको घुँइचो लाग्थ्यो । साँझपख घर–घरमा पालो गरी शास्त्रीय संगीतमा आधारित भक्ति भजनहरु भइरहन्थ्यो । कतै गीत गोविन्द कतै दाफा भजन कतै चैत्यराज भजन कतै चतुर्मास भजन आदिले टोलहरु गुञ्जिरहन्थ्यो । वस्ताजहरु हार्विन, तबला, सितार भायलीनमा मस्त र टोल विभिन्न रागहरुको गायनले गुञ्जायमान भईरहन्थ्यो । बेलाबखत नाटकहरु हुन्थ्यो । जनै पूर्णिमादेखि नौदिनसम्म लगातार जात्रा हुन्थ्यो । जनै पूर्णिमा, गाइजात्रा, रोपाईजात्रा, बाघ जात्रा, श्रीनगर गणेश जात्रा, टक्सार गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जन्माष्टमी, रणउजीरेश्वरी भगवती जात्रा, अमर नारायण जात्रा आदि हुन्थ्योे । यो बेला केटाहरुलाइ केटी बनाइ छोकडा नाच गरिन्थ्यो । वर्ष भरि अन्य जात्राहरुमा टक्सार काल भैरव जात्रा, लक्ष्मी नारायण जात्रा, बुद्ध जयन्ति, बटुक भैरव जात्रा, योमरि पुन्ही, सकिमला पुन्ही, येँया पुन्ही, होली पुन्ही आदि आदि हुन्थे । आ–आफनो चाडपर्व धुमधामका साथ विधिपूर्वक मनाउँथे । प्रत्येक साँझ अमर नारायण मन्दिरमा बज्ने नगडाको आवाजसँगै नजिकै फूलवारीमा रहेका चमेराहरुको लश्कर जन्ती गए जस्तै आकाशमा उडेर गइरहको दृष्य पर्यटकहरुको आकर्षणको विषय थियो । त्यसैले पनि तानसेन संस्कृतिमय थियो । टुँडिखेलको हरियो चउरमा बराबर फूटबल खेल भइरहन्थ्यो । प्रतियोगितात्मक खेल हुन्थ्यो । यहाँका युवाहरुका साथ बाहिरबाट खेलाडीहरु खेलमा भाग लिन आउँथे । शैक्षिक थलोको रुपमा प्रशिद्ध थियो भने स्वास्थ्यको क्षेत्रमा नाम कहलाइएका थिए । गोरखपुर तिर बाट समेत उपचार गर्न आउँथे विरामीहरु । सबैको आ–आफनै विशेषता थियो मौलिकता थियो । शायद यी सबै कारणले गर्दा पनि गायक झलकमान गन्धर्वलाई तानसेन घमाइलो लागेको थियो ।तर आज त्यो वातावरण केही पनि छैन् । आकर्षक कलात्मक झ्याल ढोका भएका झिगटीका घरहरुको सट्टामा जताततै कंक्रिटका घरहरु छन् ।
तानसेन आज सानो छैन् दायाँ वायाँ पखेटा फैलाइ सकेछ जताततै कंक्रिटका घरघरहरु मात्र देखिन्छन् । सिद्धार्थ राजमार्गको निर्माण पछि व्यापार व्यवसाय कम हुन थालेपछि यहाँका स्थानीयहरु नेवारहरु धमाधम घर छोड्दै अन्य जिल्लाहरु तिर पलायन हुन थाले । पुराना स्थानीयको सट्टामा अन्य जातिहरुको बाहुल्यता हुन थाल्यो । यसको असर तानसेनको हरेक क्षेत्रमा पर्दै गयो । किनकी जात्रा चाडपर्व मनाउने जातिमा नेवार जातिहरु शायद पहिलो पक्तिमा पर्दछन क्यारे । अब नेवारहरु नै नभए पछि ऐतिहासिकता हराउँदै गयो, सांस्कृतिकमय तानसेन विस्तारै आफ्नो अस्तित्व गुमाउँदै गयो । अब मौलिकता, विशेषता कतै देखिदैन । जात्रा चाडपर्व साँगुरिदै गयो । कतिपय जात्रा चाडपर्वहरु संरक्षणको अभावमा लोप भए र आज पनि हुँदैछन् । अग्रजहरुको निधनसँगै पुराना भजनहरु हराउँदै गए । आजभोलि कतिपय जात्राहरु नाम मात्रको हुन थालिसके छ । यस्ता अमूल्य धरोहरहरु पुस्तान्तरण हुन सकेन । अब समयले कोल्टे फेरिसके छ । तानसेन अब पहिले जस्तो छैन । शिक्षा, स्वास्थ्य क्षेत्रमा अब अरु जिल्लाहरुले ओगटिसकेछ । घरहरु अग्ला अग्ला कंक्रिटमय भए बाटाहरु च्यापटा ढुंगाका सट्टा पीच, ढलान भए । घर–घरहरुमा हुने शास्त्रीय संगीत, भजन आज भोलि कतै छैनन् । सांगीतिक माहोल कतै छैन सबै लोप भयो । विश्वव्यापी तापक्रम बृद्धिका कारण पाल्पाको हावापानी अहिले पहिले जस्तो छैन् । पर्यटकको आकर्षण चमेराहरु आज कतै देखिदैन अब त्यो दृष्य कहिले पनि हेर्न पाउने छैनन् पर्यटकहरुले । गाउँ–गाउँमा सडक संजाल जोडिएका कारण अब गाउँका बासीन्दाहरुलाई तानसेन धाइरहनु नपर्ने भएको छ । अब तानसेनमा पुरानो मौलिकता छैन्, विशेषता छैन, संस्कृतिमय छैन जहाँ गर्व गर्न सकियोस्, ऐतिहासिकता विस्तारै आधुनिकतामा फेरिदै छन् । शायद समयको माग हो । शायद यही हो विकासको क्रम । अब पनि झलकमान गन्धर्वको तानसेन घमाइलो छ त तानसेन ? के भन्ने खै ?
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।)

