हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा रहेको श्रीस्वस्थानीको व्रतकथा आज शनिबारबाट सुरू भएको छ । एक महिनासम्म नै चल्ने यो व्रत सामाजिक तथा सांस्कृतिक विरासतका रुपमा समाजमा स्थापित छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाको अवधिमा नेपालीका प्रायः घर–घरमा स्वस्थानीको कथा वाचन गर्ने र श्रवण गर्ने महान् परम्परा रहँदै आएको छ ।
थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर एक छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जनविश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गर्दै बालबालिका बारे जनतचेतना फैलाएको छ । यसले संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुषबीचको लैङ्गिक समानताको वकालत पनि गरेको छ । श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिक तर्फ लैजान स्वास्थानी व्रत कथाको महत्वपूर्ण कुराहरु कथामा उल्लेख गरिएको छ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति असल होस् भन्ने प्रार्थना स्वरूप यो व्रत बस्दै आएको पाइन्छ । स्वस्थानी व्रतकथाको आशयलाई हेर्ने हो र निरन्तर प्रयास, लगनशीलता देखाउने हो भने अवश्य पनि सफलता हात पार्न सकिन्छ र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने पाठ यसबाट पाउन सकिन्छ । यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नी बीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाँङ, धतुरोको हिफाजातसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ । देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम देखिन्छ । यसर्थ पनि स्वस्थानी कथालाई नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने महत्वपूर्ण पर्वको रुपमा दिने गरिन्छ ।

