Shittalpati
शीतलहरको कहरबाट बचौं

यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । केही दिन यता लगातार हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । यो अत्यन्तै दुखको कुरा  हो । अरू बेला उखरमाउलो गर्मी हुने तराईका भू–भाग यति बेला कठ्यांग्रिदो जाडोको ठिहिरोमा छन् । शीतलहरले ढपक्कै ढाकेको छ । तीन किलोमिटर बाक्लो हुस्सु लाग्दा तराईका भूभागमा स्थल यातायातकै साधन चल्न कठिन भइरहेको छ । हवाई यातायात पनि चल्न पाएका छैनन् । शीतलहरले विपन्न बस्तीका साथै सुत्केरी, गर्भवती, वृद्धवृद्धा, विपन्न परिवार बढी प्रभावित छन् । चिसो बढेसँगै अधिकांश बासिन्दा गाउँमा धुनी बालेर आगो तापिरहेका छन् । पहाडहरू त पहारिला नै छन् । हिमाली भेगतिर अझै हिमपात भइसकेको छैन । चिसोचाहिँ तराईतिरै छ ।

चिसो मौसममा जब हुस्सु लाग्छ, जमिन चिसिन्छ र वायु मण्डलको माथिल्लो तहमात्रै तात्छ, प्रदूषण बीचमै अड्किन्छ । आजको युगमा चिसोले कसैको ज्यान जानु हुँदैन । खरको छानोमुनि पराल ओछयाउने र ओढ्ने नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन योजनालाई सरकारले साकार पार्नुपर्छ । प्रदूषण नियन्त्रण गर्न कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । वातावरण संरक्षण गर्नुपर्छ । हरियाली बढाउनागरिकहरू पनि प्रदूषण कम गर्न जिम्मेवार बन्नुपर्छ । शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ । यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ । स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ । यसो गर्न सकियो भने मात्र शीतलहरको कहरबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update