Shittalpati
तानसेनमा पहिरो : गाडी बगाउँदा तीनको मृत्यु,पहिचान खुल्न बाँकी (अपडेट)

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म उनीहरुको पहिचान खुल्न सकेको छैन ।


तानसेनबाट रिडीतर्फ जाँदै गरेका गाडीहरु सोही स्थानको जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । सडकमा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जिप, लु.१ प.१९२८ नम्वरको पानी ट्यांकर,लु.२ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । सडक तलबाट प्रहरीले दुई जनाको शव निकालेको थियो । उक्त पहिरो डेढ सय मिटर लामो छ । पहिरोमा परी एउटा गाडी क्षतविक्षत अवस्थामा छ, भने अर्को गाडी भीरमा अड्किएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गीरीले जानकारी दिए ।

करिब ४ः३० बजेको समयमा पहिरोले गाडी बगाएको भन्ने खबर प्राप्त हुन साथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । सुरक्षा निकायका व्यक्तिहरु राती अवेरसम्म उद्दारमा खटेपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेकाले उद्दारमा कठिनाई भएको थियो । पहिरोमा अन्य व्यक्तिहरु पनि रहन सक्ने प्रहरीको अनुमान रहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update