Shittalpati
स्वास्थ्यका लागि ध्यान

दीर्घ जीवनका लागि सबैभन्दा महत्वपूर्ण हो, स्वस्थ शरीर । स्वस्थ शरीरका लागि हाम्रा बानी व्यवहारले धेरै प्रभाव पार्छन् । रोग लाग्नुअघि नै निदानका उपाय अपनाउन सकियो भने धेरैजसो अवस्थामा अस्पतालसम्म पुगिरहन पर्दैन । स्वस्थ जीवनशैली भनेको शरीरलाई बलियो, ऊर्जावान् र खुसी महसुस गर्नु हो । शरीर स्वस्थ भयो भने काममा ऊर्जा आउँछ र परिणाम पनि राम्रो आउँछ । स्वस्थ जीवन व्यक्ति स्वयम्का लागि मात्र नभएर परिवारका लागि समेत महत्वपूर्ण हुन्छ । स्वस्थ जीवनका लागि ध्यान महत्वपूर्ण हुने गर्दछ । ध्यानले मानसिक तनाव कम गर्न धेरै सहयोग पुर्‍याउँछ । यसले कुनै काममा फोकस हुन र भावनात्मक रुपमा स्थिर हुन पनि मद्दत गर्छ । नियमित ध्यानले  जीवनमा शारीरिक र मानसिक स्वास्थमा धेरै सुधार आउन सक्छ । यसले मानिसलाई धैर्यवान् बनाउन पनि सहयोग गर्छ ।

प्राचीनकालमा ध्यानकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै ध्यान प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा ध्यान गर्नाले जीवनमा कहिल्यै पनि औषधि खानु पर्दैन । चिकित्सकलाई धाइरहनुपर्दैन । त्यसैले ध्यानलाई सबैले व्यवहारिक जीवनमा अपनाउन जरुरी छ । दिनको कुनै पनि समयमा ध्यान गर्न सकिन्छ । विशेषगरी बिहानको समयमा ध्यान गर्नु उचित हुन्छ । ध्यान गर्नको लागि शान्त ठाउँ चाहिन्छ । घरको कुनै पनि शान्त कुनामा बसेर सजिलै ध्यान गर्न सकिन्छ । ध्यानले निरोगी बनाउँछ शरीरलाई आकर्षक बनाउन, शान्त चित्त र राम्रो स्वास्थ्यका लागि अन्य कुनै उपाय अपनाउनु पर्दैन । तर मानिसले ध्यानको महत्व जान्दा–जान्दै पनि त्यसो गरेको हुँदैन । ध्यान त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्दछ । ध्यानको महत्वलाई विश्वभर फैलाउन हरेक वर्षको डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने गरिन्छ । आज पनि यस वर्षको ध्यान दिवस नेपालसहित विश्व मनाइँदै छ । केही वर्षयता नेपालमा पनि ध्यानको महत्व केही बढ्दै गएको छ । गाउँ–गाउँमा समेत ध्यान र योग शिविर सञ्चालन हुने गरेका छन् । यो आफैमा राम्रो हो । ध्यान शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान पनि हो । तसर्थ स्वस्थ  रहनका लागि सधै ध्यान गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update