Shittalpati
एमाले महाधिवेशनको सन्देश

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयन गर्दै सकिएको छ । नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार र सबैभन्दा पुरानो, संगठित तथा प्रभावशाली दलका रूपमा स्थापित एमालेको महाधिवेशनलाई यसपटक विशेष चासोका साथ हेरिएयो । जेन–जी आन्दोलनपछिको बदलिँदो राजनीतिक चेतना, युवापुस्ताको दबाब र देशमा देखिएको नेतृत्वप्रतिको निराशाबीच एमालेले कस्तो नेतृत्व चयन गर्छ र कस्तो नीति अघि सार्छ भन्ने प्रश्न एमालेको अन्तिम मत परिणामले प्रष्ट पारेको छ ।

महाधिवेशनमार्फत निर्वाचनबाटै नयाँ नेतृत्व चयन गरेर  एमालेले सकरात्मक सन्देश प्रवाह गरेको छ । एमालेमा यो नै पहिलो पटक निर्वाचन अभ्यास भने होइन । विगतमा पनि निर्वाचन भएका हुन् । तर अहिलेको निर्वाचनले सकारात्मक सन्देश दिएको छ । एमालेले आफूलाई सबैभन्दा गतिशील र अप्ठ्यारो परेका बेला पनि धुलो टकटक्याउँदै उठ्न सक्ने क्षमता भएको दलका रूपमा फेरि स्थापित गरेको छ । विषम परिस्थितिका बेला पनि महाधिवेशन आयोजना गर्नु, नेतृत्वका निम्ति निर्वाचन गर्न पनि तयार हुनु र फेरि दललाई एक ढिक्का बनाएर जाने आँट गर्नु सकारात्मक पक्ष हो । आपसमा प्रतिस्पर्धा गरेर पनि पराजित नेता तथा कार्यकर्ताले दलप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । त्यसैगरी निर्वाचित हुनेहरूले पनि उत्तेजनापूर्ण अभिव्यक्ति नदिई अगाडि बढ्ने लक्षण देखाइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लगातार तेस्रो पटक पनि अध्यक्षमा जित्ने आफ्नो क्षमता प्रदर्शन गरेका छन्, त्यो आफैंमा उल्लेख्य छ । ओलीको यो विजयसँगै राष्ट्रिय राजनीतिमा उनको भूमिका प्रबल हुने देखिएको छ । जेनजी विद्रोहपछि संसद् विघटन भएको स्थितिलाई उनले स्वीकार गर्न सकेका छैनन् । त्यसैगरी वर्तमान सरकारप्रति पनि उत्तिकै आलोचक रहँदै आएका छन् । राष्ट्रिय राजनीतिमा आगामी दिनमा ओलीको भूमिकाले फरक पार्न सक्छ । दलभित्र ओलीमाथि एकलौटी गरेको आरोप लाग्दै आए पनि त्यहाँ आफ्नो बलियो पकड रहेको उनले खुला निर्वाचनमार्फत पुष्टि गरेका छन् । त्यति मात्र होइन, मुलुकको राजनीतिमा ओली अझै सान्दर्भिक रहेको यसले देखाउँछ । जेनजी विद्रोहपछि पुस्तान्तरण र पद हस्तान्तरणको जबर्जस्त भाष्य निर्माण भएता पनि एमालेभित्रको निर्वाचन परिणामले त्यसलाई स्वीकार गरेको देखिएन । महाधिवेशन परिणामले फेरि पनि एमालेभित्र दह्रो अडान राख्न सक्ने र बलियो नेतृत्वलाई खोजेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update