नेपालका हरेकजसो राजनीतिक दलमा नेतालाई नै सर्वोपरि मान्ने र नेताले नै आफु सर्वस्व रहने प्रचलन छ । नेताले बोलेको अकाट्य हुने, आफ्नो निर्णय दल र आफ्नै दलका अरु नेता र कार्यकर्तामाथि लाद्ने प्रचलन व्यापक छ । जसका कारण यतिबेला लगभग सबै दलमा विभिन्नखाले किचलो देखिएको छ । कुनै पनि दल नीतिले नभइ नेताप्रधान बन्न पुुगेका छन् । राजनीतिमा पुस्तान्तरणको बहस निकै लामो बहस हो । तर, हरेक पार्टीमा ‘वर्तमान नेतृत्वपछिको विकल्प को ?’ भन्ने प्रश्न आज पनि अनुत्तरित नै छ । यसले गर्दा दल नीतिले होइन, नेताका कारण चलायमान छन् भन्न सकिन्छ । एमालेको ११ औं केन्द्रीय महाधिवेशन पनि यस्तै भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफु अनुकूल विधान शंसोधन गरेर जुन चेष्टा गरे । त्यो नै नेता प्रधान बन्नुको मुख्य कारक हो । नेपाली काँग्रेस र अन्य दलहरुमा पनि समस्या उस्तै छ ।
केही महिना अघि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफू उपचारक्रममा विदेशतिर लागे । तर, उनी नभएको मौका पारी यता ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन ?’ भन्ने विवादले कांग्रेसभित्र निकै चर्को रूप लियो । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने, कार्यबाहक नेतृत्वले निर्णय दिन नसक्ने र विभिन्न बहानामा बैठक सार्ने गर्यो । अन्ततः सभापति देउवा स्वदेश फर्केपछि उनैले हस्तक्षेप गरी महाधिवेशन टुंगो लगाए । यस घटनाले नेपाली कांग्रेसभित्र पुस्तान्तरण वा नीतिप्रधानको जतिसुकै लामो बहस भए पनि ‘तिनै पुराना, अनुभवी र परम्परागत व्यक्तिको नेतृत्व नै कामयाबी रहेछ’भन्ने सन्देश दिएको छ । देउवाको अनुपस्थितिमा महाधिवेशनसमेत तोक्न नसक्ने नेतृत्वले आगामी दिनमा के काम गर्ला ? पार्टीलाई कुन दिशा निर्देश गर्ला ? सोचनीय छ । यस्तो अवस्थामा पुरानो नेतृत्वको विदाइ कसरी सम्भव होला ? नीतिले मात्र पार्टी कसरी चल्ला ? विभिन्न प्रश्न उठेका छन् ।
देउवाले जेनजी आन्दोलनपछि कार्यबाहक नै सही, नेतृत्व हस्तान्तरण अभ्यास त गरे, यसलाई सकारात्मक मान्नैपर्छ । तर केपी शर्मा ओलीले फेरी पनि अध्यक्षमा दोहोरिन जुन हर्कत गरे त्यो अस्वभनिय नै रह्यो । आजसम्म नेता धेरै जन्मे, नेतृत्व जन्मिन सकेन । यो आजको यर्थाथता हो । अब कम्तीमा पनि नेताभन्दा नीतिलाई प्रश्रय दिनेगरी अघि बढ्नसकेमा यो समस्या पुनरावृत्ति हुने थिएन । तसर्थ अब नेता है नीतिमा बहस हुन जरुरी छ ।

