Shittalpati
रोटी बनाउने सिप सिकेर आयआर्जमा जोडिदै तानसेनका महिला

पाल्पा, तानसेन नगर भित्रका महिलाहरू अहिले स·ठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका महिलाहरू पछिल्लो समय आयआर्जनमूलक कार्यमा जोडिएका हुन् ।

यहाँका सरकारी तथा सामाजिक संघ संस्थाले महिलालाई विभिन्न समूहमा आबद्ध गरि विभिन्न सिपमूलक तालिम दिन थालेपछि महिलाहरु आयआर्जनका काममा सक्रिय हुन थालेका छन् । तानसेन नगरपालिका वडा नं. २  वडा कार्यालयको आर्थिक सहयोगमा असनटोल विकास संस्था–३ ले नगर भित्रका महिलाहरुलाई रोटी बनाउने तालिम दिएसँगै महिलाहरु आयआर्जनमा जोडिन थालेका हुन् । यहाँका २० जना महिलारुले समूहमा नेवारी कला, संस्कृति तथा परम्परामा आधारित रोटी बनाउने सिपमूलक तालिम लिएका छन् । महिलाहरुको आयआर्जन बढाउने उद्देश्यसहित सञ्चालन गरिएको तीन दिने तालिममा महिलाहरुले विभिन्न प्रकारका रोटी बनाउने सिप सिकेका छन् । तालिममा  सहभागी महिलाहरुले लोपोन्मुख अवस्थामा पुगेका नेवारी समुदायका परम्परागत रोटीका परिकारहरु—लाखामरी, पाते, सेगुली, सिन्कामरी, झिनियाँ, फिनी तथा सेल रोटी बनाउने व्यावहारिक सिप सिकेका छन् । पछिल्लो समय आधुनिक जीवनशैली, फास्टफुड संस्कृतिको प्रभाव र पुस्तान्तरणको अभावका कारण नेवारी समुदायमा चलनचल्तीमा रहेका पाते र लाखामरी जस्ता परिकारहरु हराउँदै जान थालेपछि तिनको संरक्षण र प्रवद्र्धनका लागि तालिम सञ्चालन गरिएको संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यले बताईन् । नेवारी कलासंस्कृति जोगाउनुका साथै एक समुदायबाट अर्को समुदायमा मौलिक परम्पराको हस्तान्तरण गर्दै महिलाहरुलाई आर्थिक गतिविधिमा जोड्ने उद्देश्य संस्थाको रहेको छ ।

वडा अध्यक्ष महेश्वर श्रेष्ठले तानसेन एउटा साँस्कृतिक शहर भएकाले यहाँका जातजातिका परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्ने र जसबाट महिलाहरुले राम्रो आम्दानी गर्न सक्ने भएकोले यस्ता सिपमूलक तालिमलाई निरन्तरता दिईने बताए ।  महिलाहरु आत्मनिर्भर बन्नु नै समग्र समाज र देशको आर्थिक विकासको आधार भएको वडा अध्यक्ष श्रेष्ठले बताए । सिप हस्तान्तरण तालिमकी प्रशिक्षक अनुजा बज्राचार्यले  तालिममा सहभागी महिलाहरुलाई प्रशिक्षकहरुले परम्परागत रोटी बनाउने विधि, कच्चा पदार्थको छनोट, सरसफाइ, गुणस्तर तथा बजार व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको बताईन् । सहभागी महिलाहरुलाई आफैंले रोटी बनाएर अभ्यास गराउने, स्वाद र गुणस्तर कसरी कायम गर्ने भन्ने विषयमा विशेष ध्यान दिइएको प्रशिक्षक बज्राचार्यले उल्लेख  गरिन् । रोटी बनाउने तालिमका रुपमा अनुजा बज्राचार्य, कृष्णकली बज्राचार्य, यशोधरा बज्राचार्य र उषा प्रधानले प्रशिक्षण दिएका थिए । रोटी बनाउने सिप हस्तान्तरण तालिममा संस्थापक अध्यक्ष शकुन्तला बज्राचार्यले घरमै बसी बसी महिलाहरुले दुई÷चार पैसा पनि कमाउने साथै नेवारी कलासंस्कृति संरक्षण पनि हुने बताईन् ।  महिलाहरु सिप सिकेर आत्मनिर्भर बने मात्र परम्परागत ज्ञान र संस्कृति जोगिन सक्ने भन्दै संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थापक अध्यक्ष बज्राचार्यले जोड दिईन् ।  तालिममा सहभागी निर्मला श्रेष्ठ र गंगा नेपालले तालिमबाट घरमै बसेर परम्परागत रोटी बनाएर बिक्री गर्न सकिने, विवाह, ब्रतबन्ध भोजभतेरमा  होटल तथा समारोहमा रोटी बनाई विक्रि गरीे घरायसी खर्च धान्न सकिने बाटो खुलेको बताए । संस्थाका सल्लाहकार सर्जुलाल बज्राचार्यले संस्कृति संरक्षण र आर्थिक सशक्तिकरणलाई सँगसँगै लैजानु आजको आवश्यकता भएको उल्लेख गरे । रोटी बनाउने तालिम समापन कार्यक्रम संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष सुनिता थैवको स्वागत र सचिव सुनिता कुमारी प्रधानको सञ्चालनमा भएको थियो ।  तीन दिने तालिमबाट महिलाहरु परम्परागत रोटी बनाउने सिपमा दक्ष बन्नुका साथै उद्यमशील बन्न प्रेरित भएको आयोजकको विश्वास रहेको छ । यस्ता कार्यक्रमले महिलाहरुको आयआर्जन मात्र नभई मौलिक कला संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update