Shittalpati
पहिरोले पाल्पाका सडक अवरुद्ध

पाल्पा । निरन्तर अविरल वर्षाका कारण खसेको पहिरोले जिल्ला भित्र पर्ने विभिन्न सडकहरु अवरुद्ध बनेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण जिल्ला भित्र पर्ने विभिन्न राजमार्ग अन्र्तगतका सडकहरु अवरुद्ध बनेका हुन् । सिद्धार्थ राजमार्ग अन्तर्गत माथागढी गाउँपालिकाको अगाहखोला क्षेत्र नजीकै पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । आर्यभन्ज्याङ–राम्दी सडक खण्डको अगाह खोलामा सोमबार बिहान पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । राजमार्ग अवरुद्ध भई अत्यावश्यक यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रुले दुःख पाएका छन् ।

वर्षाले तानसेन–रिडी सडक खण्ड पनि सोमबार बिहानैदेखि अवरुद्ध भएको थियो । सडकमा सय बढि सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका थिए । तानसेन नगरपालिका अन्तर्गत ढुंगाखानी, सम्मोबारी, जोगेपानी लगायतका स्थानमा दर्जन बढी पहिरो खसेको छ । त्यस्तै वर्षाका कारण पूर्वखोला गाउँपालिकाको चापगौरामा पहिरो जाँदा तानसेन–रामपुर सडकको पक्की खण्ड पनि अवरुद्ध भएको छ । अवरुद्ध सडकहरु खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । वर्षा नरोकिएकाले सडक खोल्न समस्या भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update