Shittalpati
भ्रष्टाचार अन्त्य गरौं

भ्रष्टाचार नियन्त्रण विश्वकै लागि ठूलो चुनौती बनेको छ । विश्वभर यो अपराध बढोत्तरीकै क्रममा छ । नागरिकमा आएको चेतना, सञ्चारमाध्यमको प्रभावकारिता, राजनीतिज्ञ र नागरिक समाजको क्रियाशीलताका कारण भ्रष्टाचारजन्य कार्य र अधिकारको दुरुपयोगलाई सर्वत्र भत्र्सना गर्न थालिएको छ । भ्रष्टाचारले मुलुकमा राजनीतिक अस्थिरता बढाउनुका साथै लामो संक्रमणकालबाट गुज्रिएका मुलुकमा गरिबी झन् बढेको देखिन्छ । पछिल्लो समयमा त भ्रष्टहरूले सूचना प्रविधिलाई समेत दुरुपयोग गर्ने हैसियत बनाइसकेका छन् । क्षणभरमै राष्ट्रको ढुकुटी रित्तिन सक्ने अवस्था आएको छ । भ्रष्टाचार एउटा सामाजिक महारोग पनि हो । भ्रष्टाचारले गर्दा जनतामा चरम नैरास्य छाएको छ । सन् २०४८ साल देखी नै नेपाल डरलाग्दो र अनियन्त्रित भ्रष्टाचारको दलदलमा फसेको छ । यो अत्यन्त दुुखको कुरा हो । भ्रष्टाचार अन्त्यका लागि भन्दै हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । 

आज पनि यस वर्षको दिवस नेपालसहित विश्वभर मनाइँदै छ ।  तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन् मौलाउदै गएको छ । भ्रष्टाचारकै कारण देशमा विकास, समृद्धि र शुसासन आउन सकेको छैन । नेपालमा राजनीति गर्नेहरू प्रायः कुनै न कुनै रूपमा भ्रष्टाचारमा संलग्न हुने गरेको पाइन्छ । सिधासाधा व्यक्ति अब नेपाली राजनीतिमा अयोग्य सावित हुन पुगेका छन् । यो पनि यो भ्रष्टाचारको प्रकाष्ठ नै हो । डन, पैसावाला र भ्रष्टाचार गर्नेहरुको नै यहाँ हालिमुुहाली हुन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । भ्रष्टाचारलाई विकास र समृद्धिको बाधकका रुपमा लिइने गरिएको छ । ठूलो रकमको अपचलन हुने स्थिति निर्माण हुँदा त्यसले देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढ्न दिँदैन । भ्रस्टाचार विरुद्ध हरेक नागरिक सचेत बन्न आवश्यक छ । गाउँपालिका र नगरपालिकाहरुमा विकास निर्माणको लागि छुट्याइएको बजेटको दुरुपयोग हुनबाट जोगाइ सहि ठाउँमा सदुपयोग गरौं । भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबै जुटौ । जनताको आँखामा छारो हालेर आफ्नो रित्तो खल्ती भराउनुबाट गाउँ बस्तीबाट आवाज उठाऔ, भ्रष्ट हुनबाट खुलेर खबरदारी गरांै । सरकारले पनि भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याओस् यसो गर्न सके मात्र अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update